काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिखेर त्रासमा देखिएका छन् । कांग्रेसले कतै प्रधानमन्त्रीको उम्मेदवार बनाएर वैकल्पिक गठबन्धन बनाउने त हैनन् भन्ने त्रासमा प्रचण्ड देखिएको बुझिएको छ ।

बुधबार नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता हुने भएपछि वैकल्पिक गठबन्धन बन्ने संम्भावना देखिएको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि नेताहरू वैकल्पिक गठबन्धन बनाउन सक्रिय भएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले चरम राजनीतिक बेइमानी र अस्थिरताको बिजारोपण गरेको निष्कर्ष निकाल्दै नेपाली कांग्रेसले वैकल्पिक गठबन्धन बनाउन निर्णय समेत गरेको थियो । 

यदि माधव नेपाललाई प्रचण्डतिर जानबाट रोक्न सकिएमा वैकल्पिक गठबन्धन बनाउन सकिने योजनामा कांग्रेस रहेको छ । नेकपा एसको बैठकअघि सभापति देउवा श्रीमती आरजु र नेता रमेश लेखकसहित माधव नेपाल निवास कोटेश्वरमा पुगेका छन् । 

वैकल्पिक गठबन्धन बनाउ कांग्रेसको ८७, राप्रपाको १४, नेकपा एसको १०, जनमतको ६, लोसपाको ४ र नागरिक उन्मुक्ति पार्टीको ४ सीट जोड्दा १२५ सीट हुन्छ । चित्रबहादुर केसीले पनि प्रचण्डको पछिल्लो कदमको विरोध गरेकाले उनी कांग्रेससँगै रहनेछन् । त्यसो गर्दा १२६ सीट हुन्छ । 

प्रतिनिधिसभामा तत्काल कायम रहेको संख्याको बहुमत सदस्य भन्नाले अहिलेको अवस्थामा १३७ सीट आवश्यक पर्छ । एमालेका टोपबहादुर रायमाझी र कांग्रेसका टेकबहादुर गुरुङ निलम्बित छन् । त्यस्तै सुवास नेम्वाङको निधन भएका कारण एक सीट रिक्त छ ।

जसपालाई प्रचण्डको साथबाट निकाल्न सक्दा रास्वपाविना पनि वैकल्पिक गठबन्धनको वहुमत पुग्छ । जसपाभित्र प्रष्टरूपमै अहिले दुईधार देखिएको छ । भूराजनीतिक शक्तिले पार्टी नै फुटाइदिने सम्भावना देखिएपछि उपेन्द्र यादव पनि हच्किएका छन् ।

यो सबै सम्भावना बुझेरै प्रधानमन्त्री प्रचण्ड बेचैन बनेको बताइन्छ । माधव नेपालको चित्त बुझाउन ओलीलाई समेत लिएर गएका प्रचण्डले आफूबाट गल्ति भएको बताएका छन् ।

आफ्नो पालोमा आएको प्रधानमन्त्री पद प्रचण्डका कारण गएकोमा पनि माधव नेपाल अहिले असन्तुष्ट छन् र बार्गेनिङ पोजिसनमा रहेका छन् । उनलाई हिजो ओली र प्रचण्डले भेटेलगत्तै राजेन्द्र लिङ्देनले भेटेका थिए भने त्यसअघि उपेन्द्र यादवले समेत भेट गरेका थिए । यदी वैकल्पिक गठबन्धन बने ठुलो झट्का नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लाग्ने देखिएको छ ।  माधव नेपाललाई प्रधानमन्त्री बन्नबाट रोक्न ओलीले नयाँ गठवन्धन बनाउन सबैकुरा गुमाउन पछि नपरेको विश्लेकहरुको भनाई रहेको छ ।