काठमाडौं - नयाँ गठवन्धनको समिकरणमा बनेको  सरकारमा जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सहभागी हुने निर्णय गरेको छ। बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको जसपाका मुख्य सचेतक प्रदीप यादवले जानकारी दिए।

अध्यक्ष यादव उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन्। यस्तै, बैठकले सुशीला श्रेष्ठलाई राज्यमन्त्री बनाउने जसपाको निर्णय भएको छ। प्रदीप यादव र नवलकिशोर साह सुडीमध्ये एक जनालाई वनमा पठाउने केन्द्रीय कार्यकारिणी समितिको निर्णय भएको पनि यादवले जानकारी दिए।

उनका अनुसार यादव र साहमध्ये कसलाई मन्त्री बनाउने भन्ने निर्णय गर्ने अधिकार भने बैठकले अध्यक्ष यादवलाई दिएको छ। ‘अध्यक्षज्यूको नेतृत्वमा सरकारमा जाने निर्णय भयो। एक जना राज्यमन्त्री र एक जना अर्को मन्त्री अध्यक्षले नै टुंग्याउने जिम्मेवारी दिइएको छ,’ मुख्य सचेतक यादवले भने।