पथरी - मोरङको पथरी शनिश्चरेका स्थानीयले कान्छाराम कन्ट्रक्सनका कर्मचारीसहित क्रसरका ट्रक र दुई भेन नियन्त्रणमा लिएका छन्।
मनमोहन गान्धी मार्गको निर्माण कार्यमा ढिलाई भएको र काम नगरी सामान उठाएर जान लागेको भन्दै उनीहरूले ती सामानहरु नियन्त्रणमा लिएर प्रशासनलाई जिम्मा लगाएका हुन् ।

स्थानीयले क्रसरका सामान सहितको ट्रक, कर्मचारी र दुई वटा भेनलाई पथरी शनिश्चरे वडा नं. १० कार्यलय र ससस्त्र प्रहरीको कार्यलय अगाडि नियन्त्रणमा लिएका थिए । कान्छाराम कन्ट्रक्सनका प्रतिनिधि दिपक थिङ तामाङलाई भने भोलि बिहानदेखि काम सुरु गर्ने मौखिक सहमति जनाएपछि कर्मचारी र दुईटा भेन छोडिएको छ भने ट्रकलाई सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ । स्थानीयले बाटो चाडो बन्नु पर्ने माग गर्दै बाटो नबने सम्म सवारी साधन नछोड्न प्रशासनलाई दवाव दिदै आएका छन् ।
पटक पटक यस सडक निर्माण सम्पन्न गर्न दवाव दिँदै आएका स्थानीयले यस अघि गत मंसिर १४ मा उनीहरूले पथरी शनिश्चरेको ३ स्थानमा ढाट लगाएर दवाव सिर्जना गरेका थिए । मनमोहन गान्धी मार्गको काम समयमै सम्पन्न नभएकाले दिनहुँ जसो हिउँदमा धुलो र वर्षातमा हिलोको समस्या झेलिरहेको स्थानीयले गुनासो गर्दै आएका छन्।
कान्छाराम कन्ट्रक्सनले यात्रा गर्न सहज रहेको कालोपत्र सडकलाई 'निर्माण गर्ने' भन्दै भत्काएपछि हाल सो सडकमा खल्डा खुल्डी र धुलोले यात्रा गर्न असहज परिस्थिति सृजना भैरहेको नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष नवीन कार्कीले बताए ।



