काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न कारण सुनाउँदै नयाँ समीकरण पनि जोखिमपूर्ण हुनसक्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री  प्रचण्डले सुरुमा प्रधानमन्त्री प्रचण्डले  ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्तिको रुपमा  पुष्पकमल दाहाल प्रचण्डलाइ  कुनै समस्या या अप्ठ्यारोमा नपरेको तर प्रधानमन्त्री पद नै असुरक्षित भएको बताए । 

टिकिरहनु मात्रैलाई स्थायित्व  मान्ने हो भने  स्थायित्वको समस्या नभएको तर माओवादीले सघाए अनुसार कांग्रेसबाट सहयोग नपाएको प्रधानमन्त्री प्रचण्डले बताए । निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा सहयोग नपाएको उनले बताए।  प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले आपसी विश्वास कमजोर बनाएको र कांग्रेसका तर्फबाट माओवादीप्रति असहयोग हुँदा नेतृत्व मौन रहेको उनले बताए ।

कांग्रेससँगको सम्बन्ध तोडिनुका कारणहरु सुनाउँदै प्रचण्डले भनेका छन्, ‘गत आम निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्वपछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो।  गठबन्धनको नैतिकताको कसीमा त्यो (कोशीको विद्रोह) विद्रोह दण्डित हुनुपर्ने थियो तर  पुरस्कृत भयो।  त्यो समूहले राष्ट्रिय सभा निर्वाचनमा माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो’ प्रचण्डले भने ।

कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ सत्ता गठबन्धनको निन्दा सुरू भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन’ प्रधानमन्त्री प्रचण्डले भने ।

कांग्रेस महासमितिको बैठकमा हिन्दु धर्मको पक्षमा १३ सय महासमिति सदस्यहरुले हस्ताक्षर गरेको प्रति संकेत गर्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्‍यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धको विषयमा महासमितिमा प्रस्तुत प्रतिवेदनको सन्दर्भलाई समेत कांग्रेससँगको गठबन्धन छाड्नुपरेको बताएका छन् । ‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो’ प्रचण्डले भने  ‘२०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन कांग्रेसको महासमितिमा वितरण गरियो, ‘यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।’

अपेक्षित सहयोग नपाएपछि आफ्नासामु दुई विकल्प रहेको र एउटा विकल्प रोजेको उनको भनाइ छ । ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजें’ प्रधानमन्त्री प्रचण्डले भने । कसैलाई आफ्नो कदम अस्थिरता लाग्न सक्ने कसैलाई गतिशीलता लाग्न सक्ने उल्लेख गर्दै उनले भने , ‘ यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु ।’

नयाँ समीकरण पनि जोखिमपूर्ण नरहेको बोध भएको उनले बताए । ‘यो (नयाँ समीकरण) कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब यो कति परिणाममुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

उता  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिन बाँकी कुनै दल नै नरहेको टिप्पणी गरेका छन् ।

आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डबाट धोका खान बाँकी एमाले, कांग्रेसलगायत कुनै दल बाँकी नरहेको बताए । उनले प्रधानमन्त्री प्रचण्डबाट धोका पाएकाहरु एक ठाउँमा उभिनसक्ने संकेत गरे ।

‘म कुन निश्कर्षमा पुगेको छु भने अब धोका दिन कोही बाँकी रहेन । तर, एकचोटी सोच्नुस् यी जम्मै धोका पाएका एक ठाउँमा उभिए तपाईँका विरुद्ध भने कहाँ पुग्नुहोला ? हेक्का राख्नुहोला,’– उनले भने