काठमाडौं - रेशम चौधरीलाई निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको ठहर गरेको छ । टीकापुर प्रकरणमा परेर आममाफी पाएका चौधरीलाई निर्वाचन आयाेगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा मान्यता दिन बिहीबार अस्वीकार गरेकाे हो ।
आयाेगकाे निर्णयले चौधरी तनाबमा परेका छन् ।नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
आयोगका प्रवक्ता शालिग्राम शर्मालेे राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेअनुसार नाउपाको दलको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय गरेकाे आयाेगले जनाएको छ । आयोगको यो निर्णयपछि रञ्जिता श्रेष्ठ नै पार्टी अध्यक्षमा निरन्तर रहनेछन् । बिहीबार आयोगले निर्णय गरी पुरानै अध्यक्ष रञ्जिता श्रेष्ठलाई नै कायम गर्ने निर्णय गरेको हो ।
नागरिक उन्मुक्ति पार्टीले गत पुस २७ गते कैलालीको टीकापुरमा पार्टी महाधिवेशन गरेर अध्यक्षमा रेशमलाई चयन गरेको थियो ।




















