विराटचोक - मोरङको कटहरी गाउँपालिका–६ मा पर्ने लोहन्द्रा खोलामा मापदण्ड मिचेर १० देखि १५ फिटसम्म गहिरो उत्खनन गरिएपछि चतारीघाट र सतार बस्तीका सयौं घरपरिवार जोखिममा परेका छन् ।
विराटनगर–६ स्थित श्री आर. सी. सप्लायर्स एण्ड कन्ट्रक्सन प्रा.लि.ले मापदण्ड विपरित उपकरणहरु प्रयोग गरी उत्खनन गरेपछि दुई गाउँ खतरामा परेका हुन् ।स्थलगत अनुगमनमा ठेकेदार कम्पनीले मापदण्ड विपरित कटहरीको चतारीघाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्नेगरी लोहन्द्रा खोलामा उत्खनन गरेको पाइएको छ ।
कटहरी गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, कटहरी गाउँपालिकाकी उपाध्यक्ष सीता देवी राजवंशी, मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्की, सशस्त्र प्रहरीका एसपी विश्वबन्धु खड्का, राष्ट्रिय अनुसन्धानका निर्देशक तिलक शर्मा प्रसाई, मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी प्रदिप साह लगायतको टोलीले लोहोन्द्रा खोला पुगेर अनुगमन गरेको थियो ।
विराटनगर–६ स्थित श्री आर. सी. सप्लायर्स एण्ड कन्ट्रक्सन प्रा.लि.ले मापदण्ड विपरित उपकरणहरु प्रयोग गरी उत्खनन गरेको पाइएपछि उत्खननमा प्रयोग भएका सवारी साधन नियन्त्रणमा लिइएको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले बताए । उत्खननमा उपकरणहरू प्रयोग गर्न नपाइने लिखित सम्झौता भएनि ट्याक्टर र टिपरमा लोड गर्ने उपकरणहरू भेटिएकोले उत्खननमा प्रयोग भएको उपकरण र ट्याक्टर नियन्त्रणमा लिइएको चौधरीले जानकारी दिए ।
१० देखि १५ फुट गहिरो उत्खनन
मापदण्ड बिपरित खोला किनारको जमिनमा उत्खनन् गरिएको स्थानीयले गुनासो गरेपछि कटहरी गाउँपालिकाको सक्रियतामा गरिएको स्थलगत अनुगमनको क्रममा आइईइ प्रतिवेदन र सहमति विपरित ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन गरेको पाइएको चौधरीले जानकारी दिए ।
धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोला बलुवा र भरौट झिक्ने ठेक्का २०८० मंसिर ८ गते ठेक्का लागेको थियो । श्री आर सी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले १ करोड ३२ लाख १६ हजार ५ सय ९२ रुपैयाँमा ठेक्का लिएको छ । ठेक्का अवधि २०८१ जेठ मसान्तसम्म रहने सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट प्रतिनिधि रामकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
मापदण्ड बिपरित उत्खननमा कांग्रेस नेताको संलग्नता, मुद्दा हाल्ने चेतावनी
श्रेष्ठले हस्ताक्षर गरेपनि खोला ठेक्का भने कटहरीका स्थानीय काँग्रेस नेता सञ्जय मण्डलले लिएका हुन् । ठेकेदार मण्डलले कटर प्रयोग गरिएको स्वीकार गरेपनि ठुलो मेसिन भने प्रयोग नगरेको दाबी गरेका छन् । ‘कटर मेसिनले सम्याउने मात्र काम गर्दछ । खोला ढिलो गरी ठेक्का लागेकेको कारणले पनि समस्या भएको हो’ उनले भने, ‘हामीमाथि झुटो आरोप लगाइएको छ, कटहरी गाउँपालिका अध्यक्षले फसाउन खोजेका छन् ।’
करोडौं रुपैयाँ राजस्व बुझाउने कम्पनीलाई काम गर्न नदिने र स्थानीय सरकारले यसरी दुःख दिए ठेक्का रद्द गरेर अदालत जाने चेतावनी ठेकेदार मण्डलको छ ।
कटहरी गाउँपालिकाले भने अवैध उत्खननमा उपकरण प्रयोग गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने भएको छ । अवैध उत्खनन गरिएको खोलामा स्थलगत निरीक्षण गरेर आएपछि कार्यपालिका बैठकले ठेकेदार कम्पनीलाई कारवाही गर्ने अध्यक्ष चौधरीले बताए । ‘हामीले प्राविधिकसहितको टोलीले निरीक्षण गरेपछि निर्णय पनि गरिएको छ’ उनले भने, ‘गाउँपालिकाको कार्यपालिका बैठकबाट कारवाही गर्नेछौं ।’
ठेकेदारले धम्क्याएको स्थानीयको आरोप
जथाभावी उत्खननले त्यस क्षेत्रमा ठूल्ठूला खाल्डाखुल्डी परेका छन् भने बस्ती नै टापु जस्तो हुन थालेको छ ।
घरछेउमा मेसिन लगाएर ठुला खाडल हुनेगरी खनिदिने गरेकाले बाढी बस्तीमा पस्ने खतरा बढेको स्थानीय बासिन्दाले बताएका छन् । गहिरो नखन्न आग्रह गर्दा ठेकेदारले नटेरेको स्थानीय बासिन्दाको भनाइ छ । टिपरको धूलो र आवाजले बस्तीमा बस्न पनि समस्या भएको र उत्खनन रोक्न खोज्दा ठेकेदार पक्षले उल्टै बस्तीमा आएर धम्क्याउने गरेको स्थानीयको आरोप छ । वर्षामा खाल्डा खुल्डीमा पानी भरिने भएकोले बालबच्चा डुबेर मर्छन् भन्ने पिरले सताएको स्थानीयको गुनासो छ ।
अनुगमन गर्दा अवैध उत्खननमा प्रयोग गरिएको साधन नियन्त्रण लिएपछि १ देखि २ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्राबधान छ ।


