काठमाडौं - पुरानो गठबन्धन टुटेर नयाँ गठबन्धन बनेपछि तीन कम्युनिस्ट पार्टीका शिर्ष नेता  (नेकपा) ब्युँताउने गृहकार्यमा शीर्ष नेता जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले  (नेकपा) ब्युँताउने गृहकार्यमा शीर्ष नेता जुटेका हुन् ।

कुनै बेला पानी बारबारको अवस्थामा पुगेका उनीहरुको सम्वन्धमा सुधार आएको छ तर  चर्चा भएजस्तै तत्कालै सम्भव नभए पनि केही समयपछि हुनसक्ने नेताहरू बताउँछन् ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा गठबन्धन बदलेसँग आफू बृहत्तर वामपन्थी एकताको पहल गर्नेतर्फ लाग्ने बताएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी नेपाल (जसपा)सहितको नयाँ गठबन्धन पछिल्लो समय बनेको छ ।

प्रधानमन्त्री प्रचण्डले दिएको सार्वजनिक अभिव्यक्ति मात्रै नभई यी तीनवटै पार्टीका नेताले वाम एकताको पक्षमा धारणा राख्दै आएका छन् । नेकपा ब्युँताउनेगरी अगाडि बढ्नुपर्नेमा फरक मत कसैको छैन । तर, अहिले नै त्यसका लागि वातावरण बनिनसकेको उनीहरूको बुझाइ छ ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले अहिले नै एकीकरण हुनेगरी कुनै छलफल नभएको बताए । ‘अहिले सरकार सञ्चालनको विषयमा छलफल, भेटघाट हुने गरेको छ, पार्टी एकीकरणकै विषय भने प्रवेश भएको छैन, तर नेताहरूका बीचमा भेटघाट, छलफल हुँदै अगाडि बढ्ने, वातावरण बन्दै गएपछि बिस्तारै एकीकरण पनि हुनसक्छ,’ ज्ञवालीले भने ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका बीचमा पछिल्लो समय भेटघाट एवं छलफल बाक्लिँदै गएको छ । ती छलफललाई कतिपयले ‘नेकपा’ ब्युँताउने चर्चा गरेका छन् । तर, नेकपा ब्युँताउनेगरी छलफल अगाडि नबढेको ज्ञवालीले बताए ।

नयाँ गठबन्धन बनेपछि प्रचण्ड, ओली र नेपालका बीचमा सामूहिक एवं छुट्टाछुट्टै भेटघाट भएको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी कांग्रेससँगको गठबन्धनमा थिए भने एमाले साना दलसँग मिलेर छुट्टै स्थानमा थियो । अहिले तीनवटै पार्टी एउटै गठबन्धनमा आएका छन् ।

नयाँ गठबन्धन बनेपछि गत सोमबार प्रचण्ड र नेपालबीच छलफल भएको थियो । सोही दिन ओली र नेपालका बीचमा टेलिफोन वार्ता भयो । मंगलबार प्रचण्ड, ओली र नेपालका बीचमा त्रिपक्षीय भेटघाट भयो । त्यसपछि फेरि शुक्रबार साँझ ओली र नेपालका बीचमा टेलिफोन वार्ता भयो । गत शनिबार प्रचण्ड र नेपालका बीचमा भेटघाट भएपछि शनिबार नै ओली र नेपालका बीचमा छुट्टै भेटघाट भएको थियो । यो सबै भेटघाट नेपाल निवास कोटेश्वरमा भएको थियो ।

नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाएपछि ओली र उनीबीच सम्बन्ध झन् बिग्रँदै गएको थियो । नेपालको कडा रूपमा आलोचना गर्दै आएका ओली पछिल्लो समय नेपाल निवासमै पुगेर सम्बन्ध विस्तार गर्दै एकताका लागि छलफल थालेका छन् । हुन त यसअघि समेत ओलीले नेपाल नेतृत्वको एकीकृत समाजवादीसँग एकता गर्न खोजे पनि उनले अस्वीकार गर्दै आएका थिए ।

एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले सबै विषय मिल्दै अगाडि बढ्यो भने भोलिका दिनमा हुन पनि सक्ने बताए ।

स्रोतका अनुसार ओलीले नेकपा ब्युँताउनुभन्दा पहिला एमाले र एकीकृत समाजवादीका बीचमा एकीकरण गर्न खोजेका छन् । त्यसका लागि उनले पहिले पनि पहल गरेका थिए । ओलीले अहिले पनि त्यसैमा जोड गरेका छन् । एमाले र एकीकृत समाजवादीबीच एकीकरण भएपछि त्यसपछि माओवादी केन्द्रसँग एकीकरण गरेर पुरानो नेकपा ब्युँताउने योजनामा ओली रहेका छन् ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल नेकपा ब्युँताउनेमा कसैको फरक मत नभएको बताउँछन् । उनले अहिले सरकार सञ्चालन गर्दै निर्माण भएको गठबन्धनलाई पछि एकीकरण गर्दै नेकपा ब्युँताउने बताए । ‘अहिले हामीले गठबन्धन बनाएका छौं, सरकार सञ्चालन गर्दै छलफल अगाडि बढाउने र अन्त्यमा नेकपा नै ब्युँताउने हो,’ माओवादी केन्द्रका सचिव पौडेलले भने, ‘अहिले नै त्यसका लागि वातावरण बनिनसकेको भए पनि हामीले नेकपा ब्युँताउनका लागि पहल गर्छौं, बृहत् छलफल गर्र्दै पार्टी एकीकरण गर्छौं ।’

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल अहिले तत्कालै कुनै पनि दलहरू एकताको प्रयासमा लाग्ने सम्भावना कम रहेको बताउँछन् । ‘अहिले नै त्यस बाटोमा लागे भने नेताहरूको भागमा असफलता नै लाग्छ होला,’ राजनीतिशास्त्री पोखरेलले भने, ‘तर, केही समय सहकार्य गरेर लामो समयसम्म रहेको तिक्तता मेट्दै गयो भने त्यो एकताचाहिँ अलि दीर्घकालीन हुनसक्छ ।’

नेताहरूको सार्वजनिक व्यवहार र अभिव्यक्तिले पछि एकीकरणसम्म पुग्ने देखाइरहेको बताउँदै उनले भने, ‘यदि यो गठबन्धन आगामी ४ वर्षसम्म जाने भयो भने सायद वाम दलहरू एकठाउँमा आउने बन्नसक्छ ।’

नेताहरूले अहिलेको सहकार्यले पहिलेजस्तै एमाले र माओवादीबीच पनि एकता हुने आधार तयार पारेको बताइरहेका छन् । माओवादी केन्द्रका सचिव पौडेलले अहिलेको गठबन्धन वामपन्थी पार्टीहरूका बीचमा एकीकरणका लागिसमेत भएको दाबी गरे ।

२०७४ सालमा चुनावी तालमेल गरेका एमाले र माओवादी केन्द्रका बीचमा ३ जेठ २०७५ मा एकीकरण गर्दै नेकपाको घोषणा भएको थियो । एकीकरण भएर बनेको नेकपा २३ फागुन २०७७ सर्वोच्च अदालतको आदेशसँगै पुनः एमाले र माओवादी केन्द्र ब्युँतिएको थियो । लगत्तै, एमालेबाट नेपालले विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।

क्ततापूर्ण विभाजनबीच २०७९ सालमा भएको आमनिर्वाचनपछि माओवादी केन्द्र र एमालेले छोटो समयका लागि सत्ता सहकार्य गर्दा एकीकृत समाजवादी सो गठबन्धनमा सहभागी थिएन । पछि माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मतदान गरेपछि एमालेसँगको सहकार्य टुटेको थियो । एमालेसँग सत्तासहकार्य टुटेपछि कांग्रेससँग सहकार्य गरेको माओवादीले हालै सो सहकार्य तोड्दै पुनः एमालेसँग सहकार्य गरेको छ ।