विराटनगर - मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत छात्रामाथि दुव्यवहार गरेको आरोपमा मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक मधु रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडित छात्राले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले पक्राउ गरेको हो । विराटनगर महानगरपालिका—८ मुनलाइट गर्ल्स होस्टलकी सञ्चालक रेग्मीलाई पक्राउ गरी कारबाहीको माग गर्दै बुधबार बिहान स्वतन्त्र विद्यार्थी युनियन विराट नर्सिङ क्याम्पस र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रेस बिज्ञप्ति समेत प्रकाशित गरेका थिए। त्यस्तै अनेरास्ववियु कोशी प्रदेशका अध्यक्ष जीबी गजलले पनि उक्त घटनाको घोर भर्त्सना गरेका थिए ।
बुधबार नै स्वतन्त्र विद्यार्थी युनियन विराट नर्सिङ क्याम्पस , क्याम्पस प्रशासन र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन लगायतका विद्यार्थी संगठनहरुले जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाएका थिए ।

रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् । रेग्मीले छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन् ।
मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ । क्याम्पस प्रशासन, स्वतन्त्र विद्यार्थी युनियन नर्सिङ क्याम्पससहित विद्यार्थी संगठनहरुले समेत यो घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कारबाहीको माग गरेका छन् ।

पीडित छात्रा, क्याम्पस प्रशासन र विद्यार्थी प्रतिनिधिहरुले आज मोरङका प्रमुख जिल्ला अधिकारीलाई समेत घटनाका विषयमा जानकारी गराउँदै दोषीलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको अनेरास्ववियु मोरङका अध्यक्ष तुलसी घिमिरेले जानकारी दिए ।
होस्टल संचालिका रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् ।
होस्टेलमा फागुन ३ गतेदेखि बसिरहेका उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएको बताएका छन् । विद्यार्थीहरु बुधवारदेखि नै मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने अडान लिएका थिए ।
होस्टेल सञ्चालकले हातपात गरेको भिडिओमा समेत देखिएको छ । विद्यार्थीमाथि दुव्यवहार भएपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीलाई आफ्नै होस्टलमा लगेको थियो ।


