विराटनगर - बस्ती नै जोखिममा पारेर मापदण्ड विपरित लोहोन्द्रा खोलामा उत्खनन गर्ने एक ठेकेदार कम्पनीलाई मोरङको कटहरी गाउँपालिकाले जरिवाना गरेको छ । बुधबार बसेको कार्यपालिका बैठकले मापदण्ड विपरीत खोला उत्खनन गर्ने विराटनगर ६ स्थित श्री आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिलाई १ लाख रुपैयाँ जरिवना गर्ने निर्णय गरेको हो ।

कटहरी गाउँपालिका–६ चतारी घाट र सतार बस्तीका सयौं घरपरिवारलाई असर पुग्ने गरी लोहन्द्रा खोलामा गरिएको अवैध उत्खनन पुर्नुपर्ने निर्णय पनि कार्यपालिका बैठकले छ । कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीका अनुसार मापदण्ड विपरीत उपकरणहरुबाट गरिएको  उत्खननले थुप्रै खाडलहरु बनेकोले त्यो खाडल पुर्नुपर्ने र १ लाख रुपैयाँ जरिवाना बुझाएपछि मात्रै बरामद ट्याक्टर र उत्खननमा प्रयोग भएको उपकरण दिने निर्णय बैठकले गरेको छ ।

फागुन २३ गते आर.सी. सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले मापदण्ड विपरित उपकरणहरु प्रयोग गरी खोला उत्खनन गर्दै गरेको अवस्थामा गाउँपालिकाले ट्याक्टरसहित उत्खननमा प्रयोग भएका उपकरण बरामद गरेको थियो । अवैध उत्खननले कटहरीको चतारी घाट र सतार बस्तीका दुई सय सय बढी घरिपरिवार उच्च जोखिममा परेका छन् । 

आइईइ प्रतिवेदन र सहमति विपरित ठेकेदार कम्पनीले १० देखि १५ फिट गहिरो उत्खनन गरेको पाइएको गाउँपालिकाले जनाएको छ । उपकरणहरू उत्खननमा प्रयोग गर्न नपाइने लिखित सम्झौता भएपनि विभिन्न उपकरण प्रयोग गरी उत्खनन गरिएको गुनासो आएपछि गाउँपालिकाले जनप्रतिनिधि र प्राबिधिकसहितको अनुगमन गरेको थियो ।  

उपकरणहरू उत्खननमा प्रयोग गर्न नपाइने लिखित सम्झौता भएपनि खोलामा उत्खनन गरिरहेका  उपकरणहरु भेटिएपछि गाउँपालिकाले बरामद गरेको थियो । ठेक्काको सम्झौता पत्रमा सप्लायर्सको तर्फबाट रामकुमार श्रेष्ठले हस्ताक्षर गरेपनि खोला ठेक्का भने कटहरी २ का कांग्रेस सभापति सन्जय मण्डलले लिएका छन्  ।

धनपालथान र कटहरी गाउँपालिकामा पर्ने लोहन्द्रा खोला बलुवा र मिसगिटी झिक्न आरसी सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले १ करोड ३२ लाख १६ हजार ५ सय ९२ रुपैयाँमा ठेक्का लिएको छ ।  

यसअघि नेपालपुर्वले बस्ती नै जोखिममा पर्नेगरी खोला उत्खनन गरेको बारे समाचार प्रकाशित गरेको थियो ।