विराटचोक - सर्वसाधारणको नागरिकता र फोटो दुरुप्रयोग गरी गैरकानुनी रुपमा इ-सेवा र खल्ती जस्ता अनलाइन खाताहरु खोली आर्थिक अपराध एवम् अनलाइन ठगी गर्ने एक गिरोहलाई प्रहरीले मोरङ सुन्दरहरैचाबाट पक्राउ गरेको छ ।

सर्वसाधारणलाई आर्थिक सहयोग गर्ने भन्दै विभिन्न माध्यमले ब्यक्तिगत कागजात दुरुपयोग र ठगी गर्ने काममा संलग्न सुन्दरहरैँचा नगरपालिका–८ बाट तीन जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ घर भइ काठमाडौं बस्दै आएकी २३ वर्षीया सुनिता खत्री, बंगलादेशी नागरिक ४९ वर्षीय महमद खालिद हुसेन र सीतागन्ज घर भई हाल काठमाडौ नयाँ बजारमा बस्दै आएका अर्का बंगलादेशी नागरिक ३७ वर्षीय महमद तानबिर हुसेन छन् । उनीहरूलाई  मंगलबार साँझ सुन्दरहरैँचा नगरपालिका–४ बलियाबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

डब्लु बिएससी’ कम्पनीबाट गरिब र असहायलाई आर्थिक सहयोगको लागि आएको भनी प्रतिव्यक्ति ५ सयदेखि १ हजार, ५ सय सम्म रकम दिने  र रकम दिएर उनीहरुको फोटो खिच्ने र नेपाली नागरिकताको फोटोकपी लिने गरेको  सूचना पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली परिचालन भएको थियो ।

उनीहरूले  सुन्दरहरैचा नगरपालिका वडा नं ८ स्थित पानट्याङकी टोलमा बसोबास गर्ने विपन्न परिवारहरुलाई आर्थिक प्रलोभनमा पारी कागजात लिने तथा ठगी गर्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुले सर्वसाधारणको नागरिकता र फोटो दुरुप्रयोग गरी गैरकानुनी रुपमा इ-सेवा र खल्ती जस्ता अनलाइन खाताहरु खोली आर्थिक अपराध, अनलाइन ठगी गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । 

प्रहरी टोलीले खत्रीले संलग्न  उनीहरुको साथबाट प्रयोग नभएको एनसेल कम्पनीको सिमकार्ड, राहदानी, मोबाइल फोन, नगद र एटीएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । पक्राउ गरिएका ब्यक्ति तथा तिनका गतिविधिबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।