विराटचोक  — मोरङ सुन्दरहरैंचामा जंगली हात्तीको आक्रमणबाट दुईजना घाइते भएका छन्। सुन्दरहरैंचा नगरपालिका–६ मा आइतबार साँझ ५० वर्षीय रामकुमार श्रेष्ठ र १९ वर्षीय सन्तोष रायलाई हात्तीले आक्रमण गरेर घाईते बनाएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालका अनुसार घाँस काट्न शिवम् साझेदारी वन गएका बेला साँझ ५ बजेतिर जंगलमा जम्काभेट हुँदा श्रेष्ठ र रायलाई  हात्तीले आक्रमण गरेको थियो । 

हात्तीले श्रेष्ठको खुट्टामा कुल्चिएको र रायलाई सुँडले हानेको प्रहरीले जनाएको छ। त्यहाँ पन्ध्र बीसवटा जंगली हात्ती रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

 घाइतेमध्ये श्रेष्ठको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र रायको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।