काठमाडौं — नेकपा एमालेले इलाम-२ को उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (आइतबार) बसेको सचिवालय बैठकले रिक्त प्रतिनिधिसभाको उप निर्वाचनमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सुहाङ पेशाले कानुन व्यवसायी हुन्। उनी फुटबल क्लब पनि चलाउँछन्। सुहाङ इलाममा सामाजिक काममा पनि सक्रिय छन्। एमालेका तत्कालीन उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि यो क्षेत्र रिक्त थियो । सुहाङ दिवंगत नेता सुवासचन्द्रका कान्छा छोरा हुन् ।

त्यस्तै बझाङको प्रदेशसभा उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । बझाङ क्षेत्र नम्बर १ को ‘क’ मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। उनको दुर्घटनामा निधन भएपछि यो क्षेत्र रिक्त छ। उप-निर्वाचन आउँदो वैशाख १५ गते हुदैंछ ।

बैठकले ऐन महरलाई पार्टी केन्द्रिय सदस्यमा मनोनित पनि गरेको छ । उनले पार्टीमा सक्रिय भएर इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता जनाएकाले पुन केन्द्रिय सदस्यमा मनोनित गर्ने निर्णय गरिएको पनि पार्टी उपमहासचिव ज्ञवालीले बताए ।