कैलाली — कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेका  १७ युवा मध्ये एक युवक बेपत्ता भएका छन् ।

सोमबार दिउँसो कर्णाली पुलबाट १७ जनाले हाम फालेकोमा लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका हुन् ।

उनीसँगै हाम फालेका १६ जना भने पौडी खेलेर र उद्वारमा खटिएको डुंगाबाट बाहिर आएका थिए । तर उनी भने नदीमा डुबेर बेपत्ता भएका हुन् ।

उनीहरुले होली पर्वको रमाइलोबीच पौडी खेल्न नदीमा हाम फालेका थिए । कतिपयले उनीहरूले भाङ खाएर हाम फालेको बताए पनि हाम फाल्नुको कारण खुल्न सकेको छैन् । युवाहरू पुलबाट हाम फालेको भिडियो सामाजिक संजालहरुमा भाइरल भएको छ ।

बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।