बिर्तामोड —  नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आजदेखि सुरु हुदैँ छ  । अधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने छन् । अधिवेशन बिर्तामोडस्थित अग्रसेन भवनमा चैत १५ र १६ गते सम्म चल्ने छ ।

अधिवेशनको उद्घाटनका लागि अध्यक्ष ओली बुधबार नै झापा आइसकेका छन् । पार्टी अध्यक्ष ओलीको गृह जिल्लामा हुने जिल्ला अधिवेशनलाई महत्वका साथ हेरिएको छ  । ओलीले ११ बजे अधिवेशनको उद्घाटन गर्ने समय तालिका मिलाइएको छ । अधिवेशनका लागि आवश्यक व्यवस्थापन मिलाइसकेको बताइएको छ ।

अधिवेशनको बन्द सत्रमा कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले राजनीतिक प्रतिवेदन, सचिव शिव ढुङ्गेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ ।

पालिकाबाट ४३० जना, जनसङ्गठनहरूबाट ८९ जना, मजदुरबाट ३० जना, सल्लाहकारहरू २५ जना, सम्पर्क मञ्चबाट ५ जना र आयोजक १६९ जना एवम् मनोनीत प्रतिनिधिहरू ३८ जना गरी ७८६ जनाले अधिवेशनमा सहभागी हुने जिल्ला कमिटीले जनाएको छ ।

एमाले झापाको अध्यक्षमा प्रेम गिरी र शिव ढुङगेल आकांक्षी रहेका छन् । हालका कार्यवाहक अध्यक्ष गिरी र सचिव ढुङगेलले अध्यक्ष बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् । गिरी र ढुङगेल दुवै जना अध्यक्षको उम्मेदवार बन्ने लगभग निश्चित भएको छ ।