काठमाडौं — गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयका अनुसार सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको हो।

समितिमा उपसचिव ऋषि पौडेल र नेपाल प्रहरीका उपरीक्षक सन्तोष भट्टराई सदस्य गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारी सदस्य सचिव छन्। ५ चैतमा  प्रसाईंका दुई बडिगार्डलाई  प्रहरीले सर्वोच्च अदालत परिसरबाट स्वचालित हतियार र १०० राउण्ड गोलीसहित पक्राउ गरेको थियो । लाइसेन्स लिएर हतियारको बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै पक्राउ परेका बडिगार्डद्वय दीपक खड्का र रामकुमार धिमालले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । प्रसाईंका  व्यक्तिगत सुरक्षागार्ड  जर्मन स्पोर्ट गन ‘जि.एस.जी–५’ सहित पक्राउ परेका थिए।

त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनीलकुमार पोखरेलले आदेश गरेका थिए।छानबिन समितिलाई त्यसबारे अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ।

हतियार इजाजतपत्र र नवीकरण सम्बन्धमा छानबिन गरेर दोषीलाई कारबाहीको सिफारिस गर्न समितिलाई कार्यदेश दिइएको छ।व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त हातहतियारको प्रयोग सम्बन्धी मापदण्ड बनाउन पनि समितिलाई कार्यादेश दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

हतियार नवीकरण र कानूनी अभ्यासको विष्लेषण गरेर ऐनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्न समितिलाई भनिएको छ।

छानबिन समितिको कार्यादेशः

१. जिल्ला प्रशासन कार्यालय, झापाबाट मिति २०७५ असार २१ मा दुर्गाप्रसाद प्रसाईको नाममा इजाजतपत्र नं. 10131 मा जारी भएको 22 बोर A354752 नम्बरको हतियारको इजाजतपत्र तथा सोको नवीकरण सम्बन्धमा छानबिन गरी दोषी उपर कारवाहीको सिफारिस गर्ने।

२. व्यक्तिगत रुपमा इजाजतपत्र प्राप्त गरेक हातहतियारको प्रयोग सम्बन्धमा मापदण्ड निर्धारण गर्ने।

३. हातहतियार नवीकरण सम्बन्धमा भएको कानूनी व्यवस्था र अभ्यासको विश्लेषण गरी हातहतियार खरखजाना सम्बन्धी ऐन र सोसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने सुधारका विषयहरु पहिचान गर्ने।

४. इजाजत प्राप्त हातहतियार खरखजानाको दुरुपयोग रोक्न सो को अनुगमन, नियमन र नियन्त्रणका सम्बन्धमा गरिएको अभ्यासको समीक्षा गर्ने।

५. हतियारको अभिलेख व्यवस्थापन र नियमन सम्बन्धमा उपयुक्त ढाँचा पहिचान गर्ने।

६. क्र.सं. १ देखि ४ सम्म उल्लेखित विषयहरु समेटी राय सुझावसहितको प्रतिवेदन पेश गर्ने।