​​​​​​​नवलपरासी —  पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा भेटिएको डल्फिनलाई  उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा छाडिएको छ ।  डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी  नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रवीन्द्रनाथ चौधरीले जानकारी दिए  । डल्फिन शुक्रवार दिउँसो भेटिएको थियो ।

केही दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत् गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए ।

उक्त डल्फिन त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुँदै सुर्यपुरा विद्युत् गृहको बाँध सम्म आइपुगेको निमित्त प्रमुख चौधरीले बताए ।  उक्त डल्फिन अनुमानित ७० देखि ७५ किलोको थियो भने लम्बाई ६ फिट बढी थियो ।

पछिल्लो समय नारायणी नदीमा डल्फिनको सङ्ख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मीहरूले बताएका छन् । एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो । डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ ।