मोरङ — वैशाख १५ गते इलाममा हुने उपनिर्वाचनमा प्रमुख राजनीतिक दलहरूको  वास्तविक शक्ति परीक्षण हुने देखिएको छ ।

 बिगतमा तालमेल गरेका प्रमुख दलहरू एक्लाएक्लै चुनाव लड्ने र पछिल्लो निर्वाचनबाट उदाएका नयाँ दल पनि सहभागी हुने भएपछि उपनिर्वाचनमा रोचक हुने भएको  छ ।

 इलाम २ को उपनिर्वाचनमा लागि नेकपा एमालेले सुहाङ नेम्वाङलाई, रास्वपाले मिलन लिम्बुलाई, राप्रपाले लक्ष्मी गुरुङलाई र एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । त्यस्तै कोशी प्रदेशको नाम सच्याउन माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाएका छन् । अब नेपाली कांग्रेस र माओवादी केन्द्रले उम्मेदवार चयन गर्न बाँकी छ ।

गत २०७९ को आम निर्वाचनमा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ यो क्षेत्रबाट ३० हजार २० मत ल्याएर केवल ११४ मत अन्तरले विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका थिए । कांग्रेसका उम्मेदवारलाई माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थन थियो ।

यस क्षेत्रमा रास्वपाका प्रकाश सापकोटाले एक हजार ३ सय ८० मत ल्याएका थिए । त्यस्तै मंगोल नेशनल अर्गनाइजेसनका मणि बहादुर लिम्बुले १ हजार ३ सय ६३, राष्ट्रिय जनमुक्तिका खड्ग प्रसाद पालुवाले १२७२, जसपाका यम प्रसाद लिम्बुले ७ सय २४, राप्रपाका गणेश प्रसाद दुलालले ५ सय १० मत ल्याएका थिए ।

समानुपातिकतर्फ एमालेले २६ हजार ५६२, कांग्रेसले २२ हजार ३३३, माओवादीले ५ हजार १५३ र रास्वपाले ४ हजार ६८६ मत,  राप्रपाले ११९१ मत, जसपाले ९०६ मत र एकीकृत समाजवादीले ५८६ मत प्राप्त गरेका थिए ।

बिगतको निर्वाचन हेर्दा कांग्रेस एक्लै चुनाव लड्ने भएकोले कांग्रेस भन्दा एमाले बलियो देखिन्छ तर नेताकै छोरालाइ उम्मेद्वार बनाएको भन्दै आलोचना र असन्तुष्टि पनि बढ्दो छ । माओवादीबाट बिद्रोह गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले एमाले र कांग्रेसलाई नै टक्कर दिने अनुमान गरिएकोले पनि निर्वाचनको परिणाम यसै हुन्छ भनिहाल्न सकिने अबस्था छैन ।