एजेन्सी— भारतको पञ्जाब प्रान्तमा आफ्नै जन्मदिनमा अनलाइन अर्डर गरिएको केक खाँदा एक बालिकाकोज्यान गएको छ । मृत्यु हुनेमा पटियालाकी दश वर्षिया मानवी नाम गरेकी बालिका रहेकी छन् । परिवारका चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ ।
बालिकाको परिवारले पञ्जाबका मुख्यमन्त्री मानसँग न्यायको अपिल गरेका छन् । यस मामिलामा उक्त केक बनाउने कान्हा बेकरीका मालिक विरुद्ध एफआईआर दर्ता गरिएको छ । यस घटनाबारे प्रहरीले छानबिन गरिरहेको छ।
मानवी मृत्यु हुनुभन्दा केही घण्टाअघि केक काटेर आफनो परिवारसँग उत्सव मनाउँदै गरेको देखिन्छ । यो घटना मार्च २४ को साँझको हो ।
बालिकाका हजुरबुवाका अनुसार उक्त दिन साँझ ७ बजे बालिकाको जन्मदिनको उत्सव मनाइएको थियो । केक खाएपछि राति १० बजेसम्म घरका सबै जना बिरामी परे । दुई छोरीहरुले बान्ता गर्न थाले । बान्तापछि कान्छी छोरी प्रेमन बाँचिन् । तर मानवीको स्वास्थ्य झनै बिग्रयो । उनलाई तत्कालै अस्पताल पनि लगियो । तर बचाउन भने सकिएन ।


