काठमाडौँ — प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी सँग जोडेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने मागको अडान कायमै राखेको छ । कांग्रेसले  सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्नुपर्ने  माग पनि गरेको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा कांग्रेसको तर्फबाट धारणा राख्दै सांसद सञ्जय गौतमले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको आरोप लगाएका छन्  ।

सांसद गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीको विषयमा दिएका अभिव्यक्तिले संशय पैदा गरेको बताए । सांसद गौतमले उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न उठेको बताए । प्रधानमन्त्रीले ठूला भ्रष्टाचार र अनियमिततामा संलग्नहरूलाई जोगाएर सुशासनको कुरा गरिरहेको पनि उनको भनाइ थियो ।

प्रधानमन्त्री र प्रहरी प्रमुखले सहकारी ठगीमा गृहमन्त्री लामिछानेलाई क्लिन चिट दिन खोजेको भन्दै उनले असन्तुष्टि जनाए ।