काठमाडौँ —नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीले पार्टीभित्र उत्पन्न विवादका कारण आफु आत्महत्या गर्नुपर्ने परिस्थितिमा पुगेको बताएका छन् । तीन महिनादेखि खाना नखाएको भन्दै उनले आफूलाई आत्महत्या गर्ने परिस्थितिमा पुर्याइएको गुनासो गरेका हुन् ।
पार्टीको बैठकमा भएको कुटाकुटबारे पत्रकारहरूसँग कुरा गर्दै चौधरीले यस्तो गुनासो गरेका हुन् । श्रीमती समेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीतिर लक्षित गर्दै उनले पार्टी केन्द्रीय समितिको निर्णय समेत केही मानिसहरूले नमान्दा अहिलेको परिस्थिति आएको बताए ।
‘मलाई पनि अचम्म लाग्छ । विरुवा मैले रोपें तर यो विरुवा कुन जातको हो । आँपको कि स्याउको कि ओखरको हो ? तीन महिनादेखि खाना खाएको छैन’, उनले भने, ‘आत्महत्या गर्ने परिस्थितिसम्म पुर्याइसके । केन्द्रीय समितिको निर्णय मान्दैनौँ भन्छन् । अर्काको इशारामा हामी नचलौँ, हाम्रो निर्णय गरौँ भन्दा किन नमान्ने ?’ आउँदो २३ र २४ गते बस्ने बैठकले अनुशासनहिनलाइ कारबाही गर्ने चेतावनी पनि उनले दिए ।
‘पार्टीमा बाहिरबाट हस्तक्षेप भएको भन्दै उनले अहिलेको सरकारले आफुहरुको पार्टी चलाइरहेको आरोप लगाए। नागरिक उन्मुक्ति पार्टी अर्काको निर्णयमा किन चल्ने ? हामी हाम्रो निर्णयमा चल्नु पर्छ उनले भने ।




















