काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर नेपाली कांग्रेसले गलत गरेको बताएका छन् ।प्रतिनिधिसभाको बैठकमा बोल्दै उपप्रधान तथा गृहमन्त्रीले जवाफ दिन्छु भन्दा पनि बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे।
उनले प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि लागेका आक्षेप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको बताए ।
विगतमा कांग्रेसका मन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा प्रश्न उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा नमागेको र उनको जवाफ सुन्न तयार भएको उपसभापति वाग्लेले बताए ।
उपसभापति वाग्लेले भने,‘संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ । सर्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं, आरोप लाग्यो, जाहेरी पर्यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजीर स्थापना गर्न तयार हो ?’
आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भनी उनले प्रश्न गरेका छन् । सर्वदलीय सहमति गरौँ सबै तयार हो भने पहिलो हस्ताक्षर रास्वपाले गर्नेछ।




















