बिर्तामोड — नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाको नव गठित जिल्ला कमिटीलाई सपथग्रहणको कार्यक्रम सम्पन्न गरिएको छ । ११ औं जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएका १४९ सदस्यीय कमिटीलाई बिहिबार सपथग्रहण गराइएको हो ।
जिल्ला पार्टी कार्यलय बिर्तामोडमा आयोजित कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रममा पदाधिकारी, सदस्यहरु र लेखासमितिका पदाधिकारी सदस्यहरुले सपथग्रहण गरेका हुन् । उनीहरुलाई निर्वाचन प्रमुख टंक दंगालले सपथ गराएका छन् ।
निर्वाचन प्रमुख दंगालले अधिवेशनबाट अध्यक्षमा प्रेम बहादुर गिरीसहित सबै पदमा निर्विरोध चयन भएका पदाधिकारी तथा सस्यहरुको नाम घोषणा गरेका थिए ।
कमिटीको उपाध्यक्षमा शिव ढुङगेल, सचिवमा तुलसी कार्की, उपसचिवमा असारु राजवंशी र अनिता कन्दङवा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ ।
- यो भिडियो पनि हेर्नुहोस — कवाडीका सामानबाट मोरङका १५ वर्षे वालकले बनाए इलेक्ट्रिक बाइक
पाँच पदाधिकारी , १५ वटा पालिकाबाट एक सय १०, खुला सदस्य १५, आदिवासी जनजातिबाट पाँच, दलितबाट पाँच, अल्पसंख्यक मधेसीबाट तीन, मजदुरबाट पाँच र अपाङ्गबाट एक गरी एक सय ४९ जना सर्वसम्मत चयन भएका हुन् । १० प्रतिशतलाई पार्टीको पहिलो बैठकले मनोनित गर्ने छ ।
घोषणा तथा सपथ ग्रहण कार्यक्रममा नेताहरु हिक्मत कार्की, बिशाल भट्टराई, देवेन्द्र दाहाल, रविन कोइराला, रोमनाथ ओली, जसमाया जगमेर, इन्द्र भण्डारी, मेनुका काफ्ले, जलवर्षा राजवंशी लगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । अधिकांश नेताहरुले झापाले सर्वसम्मत गरेर देशव्यापि सकारात्मक सन्देश दिएको बताएका थिए । झापामा सर्वसम्मत गरेर एकताको सन्देश दिएको नेताहरुको भनाई थियो ।
चैत १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीकेपीले गरेका थिए ।





















