विराटनगर — नेकपा एमाले ओखलढुङ्गाका तत्कालिन जिल्ला अध्यक्ष शङ्कर कटवालले पार्टी परित्याग गरेका छन् । ओखलढुङ्गाको दशौँ जिल्ला अधिवेशनमा पार्टी नेतृत्वले विधि र प्रक्रिया मिचेर मनपरी गरेको भन्दै पार्टी परित्याग गरेका हुन् । उनले अधिवेशनमा नेतृत्वले देखाएको रवैया र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका थिए ।
अधिवेशनमा जे जस्ता रवैया र गतिविधिहरू देखिए, जुन खालका आरोप–प्रत्यारोपको होडबाजी चल्यो । नेतृत्वको जुन खालको कार्यशैली र पक्षधरता देखियो । मैले मेरो ३४ वर्षको राजनैतिक जीवनमा यस्तो विधि र पद्धति विहीनता अनुभूति गरेको थिइनँ’, कटवालले नेतृत्वलाई बुझाएको राजीनामा पत्रमा भनेका छन् ।
उनले यस्तो अराजनीतिक कार्यशैलीले पार्टी र कार्यकर्ताको भविष्य नबन्ने भन्दै राजनैतिक न्याय समेत स्थापित गर्न नसकिने बताएका छन् । ‘यही कुरालाई महसुस गरी मैले ओखलढुङ्गा जिल्ला पार्टी इन्चार्ज क.खगेन्द्र राईमार्फत मिति २०८०/१२/२७ गते बेलुका पार्टी परित्याग गरेको राजीनामा पठाइसकेको छु । आजबाट म नेकपा एमालेको पार्टी सदस्य समेत नरहेको सबैमा जानकारी गराउन चाहन्छु’, कटवालले भनेका छन् ।
बुधवार सम्पन्न भएको एमालेको दशौँ जिल्ला अधिवेशनले जीबी खड्कालाई अध्यक्षमा चयन गरेको छ ।






















