काठमाडौं  — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजा चाहियो भन्नेलाई घरमा नै राजा थापना गर्न सुझाव दिएका  छन  ।

शनिबार बुढानीलकण्ठ नगर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधान र परिवर्तन नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए । 

नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान समेत भएको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले संविधान र परिवर्तन नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताए । ‘संविधान नमान्ने, परिवर्तन नै नमान्ने, जनताको सर्वोच्चता नै नमान्ने र मलाई एउटा मालिक चाहियो भनेर कुद्ने, त्यो मालिकको थापना घरमा गर्दै गर तर देशले मालिक व्यक्तिलाई थपना गर्दैन, एउटा परिवारलाई थपना गर्दैन, देशले नागरिक सर्वोच्चतालाई मान्छ, जनतामा रहेको सार्वभौमसत्तालाई मान्छ’, उनले भने ।

अहिले पनि केही मानिसहरूमा उत्ताउलोपन देखाएर त्याग र बलिदानबाट स्थापना भएको व्यवस्था र संविधान मान्दिन भनेर हिँडेका भन्दै ओलीले आलोचना गरे । उनले त्यस्ता शक्तिलाई संवैधानिक दायरा भित्र आएर संविधानले दिएको अधिकार भित्र रहेर आफ्ना माग राख्न ओलीले आग्रह गरे । अहिले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने उनले स्पष्ट पारे  । 

अहिले नेपालमा केही हुँदै भन्दै गलत प्रचार भइरहेको टिप्पणी गर्दै ओलीले नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताए । ‘केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा भइरहेको छ, कामहरू भइरहेका छन्’, उनले भने  । 

विकासले एउटा गति लिइसकेको अवस्थामा बिचको तीन वर्ष भने गठबन्धनको कारण देशको विकासको काम ठप्प भएको उनले बताए  । ‘यो तीन वर्ष देशको अर्थतन्त्र ओरालो लाग्यो, राजनीति अस्थिर भयो, असभ्यता बढ्यो समाजमा, अराजकता बढ्यो समाजमा, बेथिति बढ्यो समाजमा, के बोल्ने, के नबोल्ने, के गर्ने, के नगर्ने जस्ता कुराहरू भएन’, उनले भने। 

ओलीले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताए । कोभिडले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको उनले टिप्पणी गरे । ‘ अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ’, उनले भने । 

यातायात र स्वास्थ्य एक आपसमा जोडिएका विषय भएको उनले बताए  । यातायात समयमा नपुग्दा मानिसको ज्यान जाने अवस्था हुने भएकोले आफू प्रधानमन्त्री हुँदा अस्पताल र सडकका काम एकैसाथ सुरु गरेको ओलीले स्मरण गराए  । 

अब नेपालका कुनै पनि जिल्लालाई दुर्गम हुन नदिने उनले स्पष्ट पारे । ‘एउटा हुम्ला जिल्लाको सदरमुकाम पक्की सडकले जोड्न बाँकी छ, त्यसलाई अविलम्ब अब जोडिने छ, अहिले नयाँ सरकार जुन बनेको छ, म नभए पनि हाम्रो पार्टी सरकारमा छ, त्यसैले सरकारको तर्फबाट पनि म भन्छु हुम्लालाई अब दुर्गम रहन दिइँदैन, हुम्लाको सदरमुकामसम्म सडक पुर्‍याइन्छ’,  उनले भने । 

कोभिडको बेलामा स्वास्थ्य क्षेत्र सुधारको लागि धेरै आफूले धेरै काम गरेको उनले बताए  । धेरैले आफूलाई त्यति बेला उडाएका भए पनि आफूले नागरिकमा विश्वास जगाउने काम गरेको उनले स्मरण गराए । कोभिडले स्वास्थ्य क्षेत्रमा तयारी अवस्था बस्न सन्देश दिएको ओलीले बताए । 

एमाले ढलेसँगै विकासको काम ढलेको बताउँदै अब एमाले सहितको सरकार बनेकोले विकासको कामले गति लिने बताए । अब ओरालो लागेको देशको ओरालो यात्रा रोकिने ओलीले दाबी गरे  । ओलीले अस्पताल भत्काउने होइन बनाउने कुरामा जोड दिनुपर्ने बताए । व्यक्तिका हित भन्दा बढी समुदायको हितमा बढी जोड दिनु पर्ने  धारणा राखे  ।

सो अस्पतालको जग्गाका मुद्दाको विषयमा बोल्दै ओलीले पछिल्लो सयमा न्यायालय प्रति समेत नागरिकको विश्वास मर्दै गएको बताए  । न्यायालयले पर्याप्त सोच विचारबिना फैसला  गर्दा विश्वसनीयता गुमाउँदै गएको उनको भनाई छ । ‘खाली न्यायको पुस्तक पल्टाएर मात्रै न्याय गरेकोजस्तो अथवा पर्याप्त सोचविचारविना नै न्याय गरिएको जस्तो छ, जनताको विश्वास हट्ने गरी, ढल्ने गरी न्याय निरूपण अदालतले नगर्दा खेरी राम्रो हुन्छ’, उनले भने ।