काठमाडौं — नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई आगामी निर्वाचनसम्म नै लैजाने प्रष्ट नीति अघि सारेको छ ।
सत्ता साझेदार दलबीच नेतृत्वमा आलोपालो गर्ने सहमति भएको चर्चा चलिरहेको बेला एमाले महासचिव शंकर पोखरेलले आगामी निर्वाचनसम्म नै दाहाल सरकारको निरन्तरताको पक्षमा पार्टी रहेको प्रष्ट पारेका हुन् । महासचिव पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिनु नै मुलुकको हितमा रहेको तथ्यप्रति एमाले प्रष्ट भइसकेको बताए ।
‘कतिपयले सरकारको नेतृत्व आलोपालो भन्ने गरेका छन । आलोपालो भन्दै प्रचार पनि भइरहेको छ । तर हामीमा कुनै भ्रम छैन । यो सरकारको निरन्तरताको पक्ष्मा छौं । आगामी चुनावसम्म यही सरकारलाई निरन्तरता दिन चाहन्छौं,’ शनिवारबाट ललितपुरको गोदावरीमा हुन गइरहेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको प्रथम बैठकको बिषयमा जानकारी दिन आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले भने ।
उनले अहिलेको सरकारले जनतामा छाएको निरासा चिरेर मुलुकलाई सही ढंगबाट अघि बढाउने ठोकुवा पनि गरे । देशको ओरालो यात्रा रोक्नको लागि वामपन्थी र नयाँ शक्तिहरु मिलेर नयाँ समीकरण बनाउनु परेको भन्दै पोखरेलले अव मुलुक थप क्षतीबाट जोगिएको बताए ।
‘यो सरकारले राम्रो काम गर्छ । आरालो लागेको मुलुकको यात्रामा ब्रेक लगाइसकेको छ, अव सुधारको काममा अघि बढछ,’ महासचिव पोखरेलले भने , ‘हाम्रो चिन्ता जनता र मुलुकप्रति हो । त्यो कुरामा जोड दिँदै आएका छौं ।’ उहाँले लोकतन्त्र र परिवर्तनमाथि संकट परेको बेलामा कांग्रेससँग मिलेर काम गर्नुपर्छ भन्ने मान्यतामा आफूहरु रहेको तर अहिले सरकारको बिषयमा कुनै भ्रम नरहेको बताए ।
मुलुकको बृहत्तर हितमा राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्छ, प्रमुख दलहरु मिलेर जानुपर्छ भन्ने मान्यतामा एमाले प्रष्ट छ । मुलुक निर्माणको बिषयमा कांग्रेससँग सहकार्य हुनसक्छ । तर अहिले सरकारमा सहकार्य हुन्छ कि हुँदैन भन्ने कुरा हो भने हामी प्रष्ट छौं, अहिले जुन गठबन्धन निर्माण भएको छ, प्रधानमन्त्री जो हुनुहुन्छ, त्यो भन्दा बाहिर गएर सोच्न सकिन्न ।
‘मुलुकको बृहत्तर हितमा राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्छ, प्रमुख दलहरु मिलेर जानुपर्छ भन्ने मान्यतामा एमाले प्रष्ट छ । मुलुक निर्माणको बिषयमा कांग्रेससँग सहकार्य हुनसक्छ । तर अहिले सरकारमा सहकार्य हुन्छ कि हुँदैन भन्ने कुरा हो भने हामी प्रष्ट छौं, अहिले जुन गठबन्धन निर्माण भएको छ, प्रधानमन्त्री जो हुनुहुन्छ, त्यो भन्दा बाहिर गएर सोच्न सकिन्न ।’ महासचिव पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा कांग्रेससँग सहकार्य हुने बताए ।
‘लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार नै छौं । हामी सत्ताको लागि लालायित छैनौं । पहिले पनि सत्ता हाम्रो लागि प्राथमिकता होइन भनेका थियौं । मुलुकलाई सही बाटोमा डोहोर्याउने विषय हाम्रो प्राथमिकता हो भनेका थियौं । त्यसैले हामीले अहिले पनि नयाँ समीकरणमा यही मन्त्रालय चाहिन्छ भनेका छैनौं । मुख्य कुरा ओरालो लागेको अवस्थालाई रोक्नु थियो, त्यो काम भएको छ,’ महासचिव पोखरेलले भने ।




















