काठमाण्डौं— नेकपा एमालेका पोलिटव्युरो सदस्य विष्णु रिजालले इलाम -२ मा सुहाङ नेम्वाङले जित्ने सर्वेक्षणहरुले देखाएको बताएका छन् । रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो कुरा बताएका हुन् । 

यस्तो छ उनले लेखेको फेसबुक स्टाटस 

सुवास नेम्वाङ लिम्बु समुदायबाट नेपालमा हालसम्मै सर्वोच्च स्थानमा पुग्ने एक मात्र व्यक्तित्व हुनुहुन्थ्यो, जो संविधानसभाको अध्यक्ष हुँदा मुलुकले संविधान पायो । नेकपा (एमाले) ले उहाँलाई राष्ट्रपतिको उम्मेदवार बनायो । उहाँको अप्रत्याशित निधनपछि उहाँप्रतिको सम्मानस्वरुप छोरा सुहाङलाई इलाम–२ को रिक्त स्थानमा उम्मेदवार बनाएको छ । 

सुहाङलाई हेर्दा मलाई जस्तै तपाईंलाई पनि ठ्याक्कै ३२/३३ बर्षको सुवास नेम्वाङ जस्तो लाग्छ होला । उस्तै बोली, उस्तै शालीनता, उस्तै विनम्रता । न कसैको आलोचना, न कसैको विरोध । सबैसँग झुकेको छ, आशीर्वाद मागेको छ । मैले त उनले ‘वास्तवमा...‘ भनेर बोल्न सुरु गरेको देख्दा झल्झली सुवास नेम्वाङको अनुहार र लवज पाएँ । इलामका मतदाताले पाँच पटक मतदान गरेका नेताको झल्को नदेख्ने कुरै भएन ।

सुहाङ पढेलेखेका युवा छन्, अहिले दिवंगत पिताको पदचिन्ह पछ्याउन खोजेका छन् । एक पटक निर्वाचित भएपछि उनी खरो उत्रिन सके भने नेता बन्लान्, सकेनन् भने पनि एक पटकलाई उनलाई मत दिनु सुवास नेम्वाङप्रतिको श्रद्धाञ्जली हुनेछ । 

सर्वेक्षणहरुले पनि सुहाङको जित बताइसकेका छन् । अझै हौसला दिऔँ, सुहाङलाई शुभकामना ।