विराटचोक— इलाम २ को उपनिर्वाचन अन्तर्गत मतदानको कार्यक्रम जारी रहेको छ । मतदानमा अपराह्न ३ बजेसम्म ५१ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
निर्वाचन कार्यालयका अनुसार ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान हुँदै छ । जहाँ ७४५ जना कर्मचारी खटिएका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।
१ लाख १५ हजार ८८९ मतदातामध्ये ६० हजार मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ। मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ।
इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ। मतगणनासथलमा तारको जाली लगाएर मतगणना भइरहेको स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ।
साँझ ५ बजे मतदान सम्पन्न भएपश्चात मतपेटिका सोझै सिटी हलमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका संलकन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ।




















