बुबा सुवासचन्द्र र आमा विशालका कान्छा छोराका रूपमा २०४६ फागुन ६ मा काठमाडौंमा जन्मेका सुहाङ नेम्बाङ इलाम क्षेत्र २ को उपनिर्वाचनबाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि उनको चर्चा चुलिएको छ ।
काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलमा नर्सरीबाट औपचारिक अध्ययन सुरु गरेका सुहाङले जगत मन्दिरबाट एसएलसी र ज्ञानोदय बालबाटिकामा कक्षा १२ को अध्ययन पूरा गरे । त्यसपछि अस्ट्रेलिया गए तर अढाई वर्षपछि कानुन पढ्ने सोच बनाएर देश फर्किए । काठमाडौंको स्कुल अफ लमा एलएलबी र एलएलएम अध्ययन गरेपछि उनको अधिवक्ता बन्ने बाटो खुल्यो ।
स्कुले जीवनमा धेरैजसो समय होस्टलमै बिताउनु परेपनि उनले फुटबल र अरू खेलमा सक्रिय हुने मौका पाए । अस्ट्रेलियाबाट फर्किएपछि कलेजमा भएका खेलकुद प्रतियोगितामा सहभागी हुँदै गर्दा उनलाई खेलाडीमात्र बनाएन, उनले इलाम स्पोर्टिङ डी मेची क्लब नै स्थापना गरे । ‘यो क्लब बुबा र मेरो सपना पनि हो,’ उनी भन्छन्, ‘खेलकुद क्षेत्रको विकासमा लाग्न पनि त्यो रुचिले बुबा र मलाई खुब प्रेरित गरेकोजस्तो लाग्छ ।’
व्यक्ति आफैं सक्षम बन्नुपर्छ भन्ने बुबाकै प्रेरणाले आफूले कहिल्यै पनि बुबाको ‘पहुँच’मा ‘आड’ नलिएको सुहाङ बताउँछन् । बुबाले कहिल्यै पनि आफूलाई आफ्नो प्रभावमा सरकारी जागिर नखुवाउने बताउने गरेको उनी सम्झिन्छन् ।
३५ वर्षे जीवनकालमा बुबासँग नौ पटकमात्र दसैं–तिहारजस्ता चाडपर्व मनाएको स्सुहाङ मरण गर्छन् । ‘अरू बेला बरु सँगै हुन्थ्यौं, टिभीमा फुटबल हेर्दासमेत बुबा र म सँगै नै बस्थ्यौं,’ उनले भने, ‘तर, किन हो को नि यतिका वर्ष बुबासँगै दसैं मनाउने अवसर चाहिँ नौ पटकमात्रै मिलेछ ।’
प्रतिनिधिसभा सदस्यमा विजयी हुँदैगर्दा आफूसँगै चुनावी मैदानमा रहेका उम्मेदवारहरूले उठाएका सबै मुद्दा इलामको नागरिकका साझा भएको नेम्बाङ बताउँछन् ।
‘एकपटक सबै उम्मेदवारसँग बसेर छलफल गर्न मन छ । उहाँहरूले उठाउनुभएका मुद्दालाई कसरी सम्बोधन गर्न सकिन्छ, इलामका समस्या समाधान गर्न कस्तो नीति र योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्नु छ,’ सुहाङ भन्छन्, ‘इलाममा काम नभएका त होइनन् तर कहाँ–कहाँ हाम्रा कमजोरी भए भनेर सल्लाह गर्न ढिलो हुन लागिसकेको छ । अधुरा योजना कसरी पूरा गर्न सकिन्छ, ती काम मैले गर्नुपर्छ ।’
इलाम–२ मा कृषिको आधुनिकीकरण र उत्पादनको बजारीकरण अर्को समस्या देखिएको उनको बुझाइ छ । शिक्षा, स्वास्थ्य र खानेपानीका समस्यामा गर्नुपर्ने काम उनका प्राथमिकता छन् ।
‘यहाँका ४२ वटै वडा घुमेर आउँदा थुप्रै समस्या पाइएको छ,’ उनी भन्छन्, ‘भोट दिने आशीर्वाद लिन जाँदा गाउँघरका बुबा–आमा, दाजुभाइ, दिदी–बहिनीले झारेको आँसुको ऋण तिर्नु छ ।’
अब इलामबाट टाढा जान नसक्ने भन्दै सुहाङले नीति निर्माणमा निर्वाह गर्ने भूमिका रहेपनि जिल्लाबासीका काम र योजना प्राथमिकतामा रहने बताए ।
‘मैले भनेकै छु, इलामबासीलाई सधैं शिरमा राखेर काम गर्नेछ,’ उनले भने, ‘कतिपय काम काठमाडौँ वा माथिल्ला निकायबाटै गर्नुपर्ने हुन्छ, इलामबाहिर जानु–आउनुर्छ । तर, म सधैं इलामबासीसँगै हुन्छु । हामी काठमाडौंमा हुँदा बुबाले जसरी हामीलाई मात्र होइन, इलामलाई नै एक परिवार सम्झिनुहुन्थ्यो, मैले भुलेको छैन । इलामबासी सबैलाई एउटै मालामा बाँध्ने उहाँको सपना मैले पूरा गर्नुछ ।’ अहिले आफूलाई पनि इलाम नै आफ्नो परिवारझैं लाग्ने गरेको सुहाङ सुनाउँछन् ।
‘बुबाले आफ्नो पार्टीलाई माथि उठाउनुभयो, यहाँका बासिन्दाले बुबालाई श्रद्धाञ्जली दिनुभयो, मलाई आशीर्वाद दिनुभयो,’ उनले सुनाए, ‘यो निर्वाचनमा सहभागी हुने इलाम–२ का सम्पूर्ण मतदातालाई धन्यवाद भन्छु । निर्वाचन सम्पन्न गराउन खटिने कर्मचारी, सुरक्षा निकाय, निर्वाचन आयोग र मेरो पार्टी पंक्तिलाई नमन गर्छु । हरेक पल नागरिकमा सूचना दिन खटिरहने प्रिय सञ्चारकर्मीलगायत सबैलाई हार्दिक धन्यवाद दिन्छु ।’




















