पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री अधिकारीले आइतबार गण्डकी प्रदेशसभाको बैठकमा विश्वासको मत मागेका हुन् ।
संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा नियुक्त भएका मुख्यमन्त्री अधिकारीले १६८ (४) बमोजिम विश्वासको मत मागे ।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना पुग्नुपर्ने संवैधानिक व्यवस्था छ । सरकार अल्पमतमा परेपछि विश्वासको मत पाउने स्थिति नदेखेपछि गत चैत २१ गते तत्कालिन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका थिए ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले २७ चैतको ३ बजेसम्मका लागि समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।
तर २५ चैतमै सभामुखसहितको संख्या गणना गरेर एमाले संसदीय दलका नेता अधिकारीले दाबी पेश गरेपछि प्रदेश प्रमुख भट्टले उनलाई मुख्यमन्त्रीमा नियुक्ति दिएका थिए ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत नदिने भएको छ । राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले आफ्नो पार्टी तटस्थ बस्ने जानकारी गराए ।
आफूमाथि सडकबाट प्रश्न उठ्दा छानबिन समिति बनाएर छानबिन गरौं भन्दा नमान्ने दल पनि केन्द्रीय सत्ता गठबन्धनमै भएको कारण विश्वासको मत नदिने उनको भनाइ छ ।




















