विराटनगर । कोशीका प्रदेशका मुख्यमन्त्री केदार कार्की अदालत जाने भएका छन् । नयाँ सरकार आव्हानविरुद्ध मुख्यमन्त्री कार्की आजै अदालत जाने भएका हुन् । कार्कीले सरकार गठन प्रक्रिया रोक्न माग लिएर सर्वोच्चमा रिट दायर गर्न काठमाडौं गइसकेको कार्कीको सचिवालयले जानकारी दिएको छ ।

आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार आव्हान गर्नु संविधानविपरीत भएको जिकिरसहित उनी अदालत गएका हुन्  ।

प्रदेश प्रमुख पर्शुराम खापुङ्गले २ दिनको समय सीमा दिएर हिजो अबेर राति संविधानको धारा १६८ (५) अन्तर्गत नयाँ सरकार गठनको आव्हान गरिसकेका छन् । एमाले र माओवादीले हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने मागसहित बहुमत सदस्यको दाबी लिएर प्रदेश प्रमुखकोमा जाने तयारी गरिरहेको छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई वैशाख २५ गतेसम्म विश्वासको मत लिन संकल्प प्रस्तावमार्फत् प्रदेशसभाले निर्देशनसहित समय सीमा दिएको थियो । उक्त प्रस्तावको पक्षमा ५२ जना सांसद उभिएका थिए ।

तर, विश्वासको मत नलिने र राजीनामा पनि नदिने अडानमा कार्की रहेपछि एमाले माओवादीले नयाँ सरकार गठनको प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष माग गरेका थिए । माओवादीले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए ।

१६८ (५) अन्तर्गत आफू मुख्यमन्त्री नियुक्त भएकाले एकपटक विश्वासको मत लिएपछि २ वर्षसम्म लिनुपर्ने कार्कीको जिकिर थियो । मुख्यमन्त्रीले विश्वासको मत नलिएको प्रदेशसभा सचिवालयले प्रदेश प्रमुखको कार्यालयमा जानकारी पठाएको थियो ।

सो पत्र साथै प्रदेशसभामा ५२ सांसदको प्रतिनिधित्व गर्ने दुई दलले नयाँ सरकार गठन गर्न गरेको मागलाई आधार बनाएर प्रदेश प्रमुख खापुङले महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको राय अनुसार सरकार गठनको आह्वान गरेका हुन् ।