काठमाडौं - सहकारी प्रकरणका संसदीय छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत देखिएका छन् । शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।
यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय भएको थापाले जानकारी दिए । बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो ।
कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलहरुको बैठकमा जनता समाजवादी पार्टी, नेपालका नेताहरु पनि सहभागी भएका थिए । त्यस्तै बैठकमा जसपा, नेपालका अध्यक्ष एवम् संसदीय दलका नेता उपेन्द्र यादव र नेता राजकिशोर यादव सहभागी छन् । राप्रपाबाट बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही उपस्थित छन् भने लोसपाबाट महन्थ ठाकुर र शरदसिंह भण्डारी लगायतका नेताहरु सहभागी रहेका थिए ।
बैठकमा एकीकृत समाजवादी सत्ता पक्षमै भएपनि बोलावट भएको थियो । तर, सो पार्टी अनुपस्थित रहेको थियो । यद्यपि नेपालसँग फोनमा कुराकानी भएको भन्दै महामन्त्री गगन थापाले सहकारी ठगीको विषयमा पार्टीले निर्णय नै गरेकाले यो मुद्दामा पार्टीको साथ रहने आश्वासन पाइएको बताए । कांग्रेसले निरन्तर सहकारी ठगीमा मुछिएका रवि लामिछानेको विषयमा संसदीय छानबिनको माग गर्दै आएको छ ।




















