विराटनगर  —  पदमुक्त भइसकेको झन्डै एक महिना पुग्न लाग्दा पनि कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवासको तालाचाबी फिर्ता गरेका छैनन् । उनले विराटनगर र काठमाडौँमा रहेको मुख्यमन्त्रीको सरकारी निवासको तालाचाबी फिर्ता गर्न अटेर गरेका छन् । 

दुई वटा निवाससँगै प्रदेश सरकारका तीन वटा सवारी साधन पनि उनीसँग छ । विशिष्ट व्यक्तिका लागि छुट्याइएको कार, अन्य दुई वटा कार र एउटा स्कुटर कार्कीले फिर्ता गरेका छैनन्  ।

‘कानूनको व्यवस्था अनुसार मुख्मयन्त्री पदबाट मुक्त भएपछि एक हप्तासम्म मात्रै निवास र प्रयोग गरेका सामान फिर्ता गर्नु पर्ने हुन्छ । उनले तालाचाबी फिर्ता नगरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की डेरामा बसिरहेका छन् ।

 मुख्यमन्त्रीका सल्लाहकार रवि खनालका अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की विराटनगरको पोखरीया स्कुल छेउ रेग्मी टोलमा रहेको भाडाको घरमा बसिरहेका छन् ।

कोशी प्रदेशमा सुनसरी मोरङ सिँचाइ आयोजनाको अतिथि गृृहलाई प्रदेशको मुख्यमन्त्रीको निवास बनाइएको छ । तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईले आयोजनाको अतिथि गृहलाई निवास बनाएका थिए । त्यसपछिका मुख्यमन्त्री सोही निवासमा बस्छन् ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेशसभा बैठकमा विशेष समय लिएर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री निवास र तीनवटा कार कब्जा गरेको आरोप लगाएका थिए ।