काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन गर्न गठित संसदीय समितिले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालबाट एक भिडियो सार्वजनिक गर्दै उनले संसदीय छानबिन समितिको कार्यादेशको चौथो बुँदाले गृहमन्त्री लामिछाने छानबिनको दायरामा आउने बताए ।
संसदीय छानबिन समिति गठन नगरी संसद अधिवेशन अन्त्य गर्ने सत्तारुढ दलहरुको तयारी थाहा पाएपछि आफूहरु गृहमन्त्रीको नाम नराखी कार्यादेश बनाउन तयार भएको थापाले बताए ।
यद्यपि अहिलेको कार्यादेशले विभिन्न सहकारीबाट रकम ल्याएको विषयमा गोर्खा मिडिया नेटवर्ककका तत्कालिन अध्यक्ष जीबी राई र अर्का सञ्चालक रवि लामिछाने छानबिनमा तानिने उनको भनाइ छ ।
‘गोर्खा मिडिया कसको हो, जीबी राई र माननीय रवि लामिछानेको हो, गोर्खा मिडियाको छानबिन गर्ने भनेपछि कोलाई छानबिन गर्नुपर्यो रु जीबी राई र माननीय रवि लामिछानेलाई बोलाएर छानबिन गर्नुपर्यो’, उनले भने ।
संसदीय छानबिन समितिले कार्यादेशमा छलकपट नगरी काम गर्नुपर्ने महामन्त्री थापाले बताए । कार्यादेश टुंग्याउने छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘गोर्खा मिडिया नेटवर्ककको नाम राखेपछि त्यहाँ रकम ल्याउन संलग्न प्रधानमन्त्री, गृहमन्त्री जो भए पनि छानबिनमा बोलाउने हो भाषामा कपट गर्न पाइँदैन’, भनेका उनले बताए ।




















