काठमाडौँ —  राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको रकम हिनामिना गर्ने व्यक्तिहरूलाई जोगाए गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नहुने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सहकारीसहकारी ठगहरूलाई जनताले देख्ने गरी कारबाही गरिनुपर्ने बताए ।

 छानबिनका निम्ति बनाइएको संसदीय समितिले पनि दोषीलाई उम्काउने देखिएको उनले उल्लेख गरे । दूधको दूध, पानीको पानी हुने गरी छानबिन गरिनुपर्नेमा उनले जोड दिए । 

“जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोस्ट्रमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने, त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरूले जुन खालको गतिविधि देखियो, यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिले झैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन्,” उनले भने ।

उनले थपे, “म सरकारलाई भन्छु– सहकारी ठगहरूलाई जसरी जोगाउने काम भयो, अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानीसाथ नेपाली जनताले संसद्‌मा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महसुस गरेका छन् । तथ्य दूधको दूध, पानीको पानी हुने गरी ठगहरूलाई जनताले देख्ने गरी कारबाही गरोस् ।”