काठमाडौँ — नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताएका छन् ।
अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताए । पार्टीका काठमाडौं जिल्ला कमिटीले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे ।
दक्षिणपन्थी शक्तिहरिको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरूलाई बुझाइसकेको अवस्थामा हुने ओलीको भनाई थियो । उनले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भएपनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गरे । अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरेपनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरूको पाउमा बुझाउने काम गरेको जिकिर पनि गरे ।
उनले भने ‘कतिपय मान्छेहरूले कहिल्यै पनि कुरा नबुझ्ने प्रवृत्ति देख्दाखेरि म छक्क पर्छु । पुस ५ गते अरु सबै ठिकै थियो । पुस छ गते संसद चाहिँ भङ्ग नगरेको भए हुन्थ्यो । संसद भङ्ग किन गर्नुपर्यो ? त्यो हाम्रो रहर थियो ? सबभन्दा प्रमुख पार्टी हामी भएका थियौँ । अर्को पार्टीलाई पनि मिलाएर बहुमत पुर्याएका थियौँ । झन्डै दुई तिहाइको स्थिति हामीले बनाएका थियौ । पार्टी भित्रैबाट बाहिरी शक्तिहरूले हामीलाई केही गर्न सक्नेवाला थिएन । पार्टी भित्रैबाट हुँडालो मच्चाएर बुरुकबुरुक उफ्रिएको छ । बैठक बैठक जस्तो हुँदैन । चलाई सक्नुछैन ।
विकास, निर्माणको काम भएको छ । अरु काम भएको छ । पुनःर्निर्माणको काम भएको छ । सबै कामहरु भएको छ । तर देख्दैन । भुईँचालोले भत्काएका साँढे ८ लाख घर बनाएको छ ।
पुनर्निर्माणका अनेक कामहरु भएका छन् । देख्दैन । अनेक नयाँ राजमार्ग बनेका छन । देख्दैन । हजारौं पुल बनेका छन, देख्दैन । तुईन विस्थापन भएको छ, देख्दैन । हवाई मैदानहरू बनेका छन्, देख्दैन । राति पनि उड्ने गरी सुविधा बिस्तार भएको छ । त्यो पनि देख्दैन । फोरजी सेवा देशभर बिस्तार भएको छ, त्यो पनि देख्दैन । हरेक क्षेत्रका विकासको गति आएको छ, त्यो पनि देख्दैन । सडक मानवरहित सडक बनाएको छ । बालबालिकालाई खातेबाट अभिभावकत्व दिएको छ । त्यो देख्दैन । ज्येष्ठ नागरिकहरूको भत्ता बढाएको छ, त्यो देख्दैन । आज पनि उफ्रिएको छ, भोली पनि उफ्रिएको छ । कसरी सरकार ढाल्ने भनेको छ । अनि दौडिएर विपक्षलाई प्रधानमन्त्री बनाउन कुदेको छ । अदालतमा गएको छ । अनि फेरी कुरा ठूलो गर्या छ ।
त्यतिबेला प्रतिनिधि सभा विघटन नगरेको भए आज नेकपा (एमाले) भन्न पाउँदैन थियौँ हामीले । यो अन्तै लगेर बुझाई सकेको हुन्थ्यो । दक्षिणपन्थी शक्तिहरिको पाउमा जसरी सरकार बुझाइयो, एमाले पनि बुझाई सक्या हुन्थ्यो । अनि तपाईँहरूले देख्नु भएन ? नवौँ महाधिवेशनबाट निर्वाचित भएको अध्यक्ष, जसले पार्टीलाई प्रमुख हैसियतमा मात्रै होइन, मजबुत हैसियतमा पुर्याएको छ । सबभन्दा ठूलो पार्टी बनाएको छ । जसले देशभरका पार्टीलाई मिलाएर झन्डै दुई तिहाइको मजबुत शक्ति बनाएको छ । उसैलाई साधारण सदस्यबाट समेत निकालेको देख्नु भएन ?’
अध्यक्ष ओलीले पार्टीले मिनी–२०८४ लाई सफल बनाउने लक्ष्य लिएको र त्यसलाई सार्थक बनाउनका लागि पार्टीका नेता, कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न पनि सचेत गराए ।




















