- कारण चौहान
विराटचोक — मोरङको सुन्दरहरैँचामा भएको नगर स्तरिय अन्तर विद्यालय तेक्वान्दो प्रतियोगितामा सुन्दरहरैँचा-१० स्थित हिमालय इङ्लिस स्कुल प्रथम भएको छ। हिमालय इङ्लिस स्कुलको प्रांगणमा शनिबार भएको प्रतियोगितामा सुन्दरहरैँचा-१२ को सुबिजिमुर स्कुल द्वितीय र सुन्दरहरैँचा-८ को ब्राइटफ्युचर स्कुल तेस्रो भएका छन् ।
राष्ट्रिय तेक्वान्दो संघ सुन्दरहरैँचा नगर समितिको आयोजनामा भएको प्रतियोगितामा नगरका ११ ओटा स्कुलका १ सय ८० जनाबाट छनौट भएका ९ जना छात्रा र ११ जना छात्र खेलाडीहरुबीच प्रतिस्पर्धा भएको अध्यक्ष अर्जुन भुजेलले जानकारी दिए । खेलमा छात्रा तर्फ १८ केजी देखि ५१ केजी तौल र छात्र तर्फ १८ केजी देखि ५८ केजी तौल बीच प्रतिस्पर्धा भएको भुजेलले जानकारी दिए ।
उक्त प्रतियोगिता विहानी र दिवा सत्र गरी दुई चरणमा भएको थियो । विहानी सत्रमा भएको प्रतियोगिताको प्रमुख अतिथि सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले उद्घाटन गरेका थिए । दिवा सत्रमा जिल्ला खेलकुद विकास समिती मोरङका अध्यक्ष इन्द्रकुमार लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी नगरपालिकाका नगर प्रवक्ता रोशनप्रसाद ढकाल,कोशी प्रदेश खेलकुद समितिका पूर्व सदस्य बद्री अर्याल लगायतको आतिथ्यता रहेको थियो ।प्रतियोगितामा विजयी हुने खेलाडी तथा विद्यालयहरुलाई दिवा सत्रका प्रमुख अतिथि लामाले टफी,मेडल तथा पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा तेक्वान्डोका वरिष्ठ प्रशिक्षक तथा राष्ट्रिय तेक्वान्डो संघ मोरङको अध्यक्ष इन्द्रबहादुर तामाङको विशेष सहयोग रहेको थियो ।
कार्यक्रममा सहभागि खेलाडी,अतिथि र सहभागीहरुलाई हिमालय इङ्लिस स्कुलको तर्फबाट खाजा खानाको सौजन्य गरिएको स्कुलका प्रिन्सिपल कमल खनालले बताए ।
पछिल्लो समयमा हिमालय स्कुलले विभिन्न विधामा भएका जिल्ला देखि नगर स्तरिय प्रतियोगितामा विजयी हुदैँ आएको छ ।




















