विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिका-६ मा अवस्थित साजिलाल माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थी सचिन रेग्मी र सभ्यता पोखरेल चीनमा आयोजना हुने १९औं शाङ्हाई अन्तर्राष्ट्रिय युवा अन्तरक्रियात्मक मित्रता शिविर कार्यक्रममा सहभागी हुन मनोनयन भएका छन्। नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उनीहरूलाई यस प्रतिष्ठित कार्यक्रमका लागि छनोट गरेको हो।

यस अन्तर्राष्ट्रिय कार्यक्रमले विश्वस्तरमा सांस्कृतिक आदानप्रदान र मित्रताको प्रवर्द्धन गर्दै नेपाली युवाको क्षमता उजागर गर्ने अवसर प्रदान गर्नेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले यो उपलब्धि विद्यालय र विद्यार्थी दुबैका लागि गौरवको विषय भएको बताए।

विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले सचिन र सभ्यताको यस सहभागिताले नेपालको प्रतिनिधित्व गर्दै नेपाली युवाको सशक्त पहिचान विश्वसमक्ष प्रस्तुत गर्ने विश्वास व्यक्त गरे।

विद्यार्थीहरूको यो सफलता विद्यालयका लागि मात्र नभई सम्पूर्ण देशका लागि प्रेरणादायक भएको विद्यालय परिवारले जनाएको छ। विद्यालय परिवारले दुबै विद्यार्थीलाई धेरै-धेरै बधाई दिँदै उज्यालो भविष्यका लागि शुभकामना व्यक्त गरेको छ।

नेपालका प्रतिभावान विद्यार्थीलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिनिधित्व गर्न पाउने यो दुर्लभ अवसरले सचिन र सभ्यताको उज्ज्वल भविष्यको ढोका खोल्ने अपेक्षा गरिएको छ।

यस कार्यक्रमको उद्देश्य विश्वभरका युवाबीच सांस्कृतिक आदानप्रदान, मित्रताको प्रवर्द्धन, र अन्तर्राष्ट्रिय समझदारीलाई विस्तार गर्नु हो।

कार्यक्रममा सहभागी युवाहरूले विभिन्न सांस्कृतिक कार्यशाला, अन्तरक्रियात्मक गतिविधि, समूह छलफल, र परम्परागत सांस्कृतिक प्रस्तुतिमा भाग लिने अवसर प्राप्त गर्छन्। साथै, यसले उनीहरूलाई विश्वभरका नयाँ साथीहरू बनाउन, अन्तर्राष्ट्रिय अनुभव बटुल्न, र आफ्ना देशको प्रतिनिधित्व गर्न महत्वपूर्ण मञ्च प्रदान गर्दछ।

शिविरले युवा सहभागितालाई सशक्त बनाउँदै विविध सांस्कृतिक पृष्ठभूमिबीच सहकार्य र आपसी समझदारीको भावना प्रवर्द्धन गर्न मद्दत पुर्‍याउँछ।