काठमाडौं — जेनजी आन्दोलनका क्रममा स्वास्थ्य मन्त्रालयमा आगजनी भएपछि मन्त्रालयले अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

मन्त्रालयका अनुसार आइतबारदेखि सबै कर्मचारीलाई उपस्थित गराई परिषद्को भवनबाट काम सुरु गरिनेछ। अहिले मन्त्रालयका कर्मचारीहरूले क्षतिग्रस्त भवनको सरसफाइ गर्दै सुरक्षित रहेका कागजात र सामानहरू संकलन गर्ने काम गरिरहेका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवन हालको मन्त्रालय भवनको पछाडिपट्टि रहेको छ। मन्त्रालयले यही भवनबाट आवश्यक कामकारबाही निरन्तरता दिने तयारी गरेको जनाएको छ।