धनगढी — कैलालीको धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले पाँच वर्षको अवधिमा करिब ४४ लाख रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गर्ने घोषणा गरेका छन्। सरकारी सेवा सुविधा नलिने बताएका हमालले उक्त रकम शिक्षा, गौ संरक्षण र सामाजिक विकासका क्षेत्रमा खर्च गर्दै आएका छन्।

शुक्रवार आयोजित पत्रकार सम्मेलनमा उनले पाँच आर्थिक वर्षमा सेवा सुविधाबाट ३८ लाख ८२ हजार ८७३ रुपैयाँ प्राप्त भएको र त्यसमा व्यक्तिगत रूपमा थप ५ लाख १७ हजार १२६ रुपैयाँ जोडेर कुल ४४ लाख रुपैयाँ सामाजिक काममा खर्च गर्ने बताएका हुन्।

उनका अनुसार हालसम्म सामुदायिक विद्यालयका विद्यार्थी, विपन्न वर्ग, अपाङ्ग संघ, मानव सेवा आश्रम तथा विभिन्न शैक्षिक संस्थामा सहयोग गरिएको छ। विशेषगरी सार्वजनिक शिक्षाको पहुँच विस्तार र ग्रामीण क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री वितरणलाई प्राथमिकता दिइएको उनले बताए।

हमालले विगतका आर्थिक वर्षहरूमा पनि सेवा सुविधाको रकम शैक्षिक सामग्री तथा सामाजिक संस्थामा खर्च गर्दै आएको उल्लेख गर्दै आगामी असारसम्म बाँकी रकम पनि सोही उद्देश्यमा खर्च गर्ने जानकारी दिए।