विराटचोक—मोरङको सुन्दरहरैँचा उद्योग वाणिज्य संघद्वारा सञ्चालित सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३ तत्काल बन्द गर्न जिल्ला प्रशासन कार्यालय मोरङले निर्देशन दिएको छ।
फेस्टिभल सञ्चालनका क्रममा तोकिएका सर्त उल्लंघन भएको तथा स्थानीयवासीबाट उच्छृङ्खल गतिविधि र सार्वजनिक शान्ति सुरक्षामा खलल पुगेको गुनासो आएपछि प्रशासनले बन्द गराउन निर्देशन दिएको हो।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षामा चुनौती सिर्जना भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्राचार गरी फेस्टिभल तत्काल बन्द गराउन अनुरोध गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा हस्ताक्षरित पत्रमा अनुमति दिँदा तोकिएका सर्त उल्लंघन भएको उल्लेख छ।
यसैबीच, आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघले प्रेस विज्ञप्ति जारी गर्दै फेस्टिभल सञ्चालनका क्रममा देखिएका असुविधाप्रति क्षमायाचना गरेको छ। संघले प्रशासनिक निकायको निर्देशनलाई सम्मान गर्दै अर्को निर्णय नभएसम्मका लागि फेस्टिभल स्थगित गरिएको जनाएको छ।
संघका अध्यक्ष नारायण कार्कीले फेस्टिभल सफल बनाउन सहयोग गर्ने स्थानीयवासी, व्यवसायी, कलाकार, प्रायोजक, सुरक्षाकर्मी तथा दर्शकप्रति आभार व्यक्त गरेका छन्।


