काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडिओ प्रकरणमा छानबिन तीव्र बनाएको छ। यसैक्रममा पार्टीको अनुशासन आयोगको टोलीले जनआस्था साप्ताहिकको कार्यालयबाट उक्त अडिओको सक्कलसहित विभिन्न प्रमाण संकलन गरेको छ।

जनआस्थाले पहिलोपटक सार्वजनिक गरेको सुनार र एक महिलाबीचको फोन संवादको अडिओमा अश्लील गालीगलौज तथा ज्यान मार्ने धम्की दिइएको सुनिन्छ। सुनारले भने उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) वा नक्कल गरेर बनाइएको हुनसक्ने बताएका थिए।

प्रकरणको छानबिनका लागि रास्वपाले पार्टीको अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ। आयोगका प्रमुख लेखनाथ पौडेलसहित तीन सदस्य जनआस्थाको कार्यालय पुगेर अडिओ माग गरेको जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठले  जानकारी दिए।

श्रेष्ठका अनुसार जनआस्थाले आफूसँग रहेका सबै प्रमाण आयोगलाई बुझाएको छ। आयोगका प्रतिनिधिले निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

छलफलका क्रममा रास्वपाका पदाधिकारीले व्यक्तिगत रूपमा अडिओ सुनारकै भएको विषयमा आफूहरू आश्वस्त रहेको बताएका थिए। तर, कारबाही अघि बढाउन औपचारिक प्रक्रिया पूरा गर्नुपर्ने भएकाले छानबिन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

जनआस्थाले सुनारको ८० पृष्ठको बैंक स्टेटमेन्टसमेत रास्वपाको टोलीलाई उपलब्ध गराएको छ। प्रधानसम्पादक श्रेष्ठका अनुसार सुनारका आठवटा बैंकमा खाता रहेको र ती खातामा भएका कारोबार शंकास्पद देखिएको दाबी गरिएको छ।

अडिओको वास्तविकता र बैंक कारोबारसम्बन्धी विषयमा छानबिनबाट के निष्कर्ष निस्कन्छ भन्ने चासो बढेको छ।