काठमाडौं—नेपाली कांग्रेसको महाधिवेशनमा पराजित भएका मधेशका नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा ल्याउन शेरबहादुर देउवा समूहले पहल गर्ने भएको छ। कांग्रेस महाधिवेशनमा हारेका नेता देउवा समूहमा जालान्?

विशेष महाधिवेशनपछि गगनकुमार थापा नेतृत्वको संस्थापन पक्षमा खुलेका मधेशका धेरै नेता पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मका विभिन्न पदमा पराजित भएपछि देउवा पक्षले उनीहरूसँग संवाद अघि बढाउने रणनीति बनाएको हो।

मधेश प्रदेशमा संगठनात्मक रूपमा कमजोर रहेको देउवा पक्षले महाधिवेशनमा पराजित भएका तथा अवसर नपाएका नेता–कार्यकर्तालाई समेटेर आफ्नो संगठन विस्तार गर्न खोजेको छ। यसका लागि केन्द्रदेखि स्थानीय तहसम्मका असन्तुष्ट नेताहरूसँग संवाद गर्ने तयारी भइरहेको देउवा पक्षका नेताहरूले बताएका छन्।

महाधिवेशनमा मधेशका चर्चित तथा पुराना नेताहरूले विभिन्न पदमा उम्मेदवारी दिए पनि अपेक्षित परिणाम हासिल गर्न सकेनन्। पदाधिकारीमा मधेशी अनुहार समेटिन नसकेको विषयले संस्थापन पक्षभित्र असन्तुष्टि बढेको र त्यसलाई आफ्नो पक्षमा उपयोग गर्ने देउवा समूहको रणनीति रहेको बताइएको छ।

देउवा पक्षका धनुषाका एक नेताका अनुसार महाधिवेशनमा पराजित भएका तथा हाल प्रतिनिधिसभा, राष्ट्रियसभा वा प्रदेशसभामा नरहेका नेताहरूलाई आफ्नो पक्षमा ल्याउन विशेष पहल गरिनेछ। स्थानीय तहका जनप्रतिनिधिलाई समेत समेट्ने योजना रहेको उनले बताए।

दशैँपछि केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूले असन्तुष्ट नेता तथा कार्यकर्तासँग संवाद अघि बढाउने तयारी गरेका छन्। स्थानीय तहका जनप्रतिनिधिलाई पनि महाधिवेशन प्रतिनिधि बनाउने व्यवस्थाले उनीहरूसँग सम्बन्ध विस्तार गर्न सहज हुने देउवा पक्षको आकलन छ।

यसपटक खुला उपसभापतिमा उम्मेदवारी दिएका धनुषाका प्रा. डा. चन्द्रमोहन यादव ७६० मतसहित सातौँ स्थानमा सीमित भए। प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा उनी प्रतिनिधिसभाका समानुपातिक सांसद हुन्।

त्यस्तै, समावेशी उपसभापतिमा उम्मेदवारी दिएका बाराका फरमुल्लाह मन्सुर १ हजार १४४ मतसहित तेस्रो स्थानमा रहे। पटक–पटक सांसद तथा पार्टीको सहमहामन्त्री भइसकेका मन्सुर यसअघि देउवा निकट मानिन्थे। तर, विशेष महाधिवेशनका बेला उनी गगन थापाको पक्षमा खुलेका थिए।

समावेशी उपसभापतिमै उम्मेदवारी दिएका मधेश प्रदेशका राष्ट्रियसभा सदस्य रञ्जित कर्ण ५६२ मतसहित अन्तिम स्थानमा रहे। उक्त पदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने विनोदकुमार चौधरी १ हजार ७४५ मतसहित निर्वाचित भएका थिए।

मधेशका पराजित नेता तथा संस्थापन पक्षभित्र असन्तुष्ट रहेकाहरूलाई समेट्न सके आफ्नो संगठन बलियो बनाउन सकिने देउवा समूहको आकलन छ।