विराटचोक — स्वर्गीय वामपन्थी नेता घनेन्द्र बस्नेतको स्मृतिमा ‘घनेन्द्र बस्नेत स्मृति प्रतिष्ठान’ स्थापना गरिने भएको छ।

बस्नेतको निधन भएको १६औँ दिनको पुण्यतिथिमा बिहीबार खुलाल बस्नेत बन्धु समाजको आयोजनामा मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित उहाँका कान्छा भाइ डेडराज बस्नेतको निवासमा आयोजित श्रद्धाञ्जली सभाले प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको हो।

Untitled Design (7) 15प्रतिष्ठानको संयोजकमा डेडराज बस्नेत तथा सदस्यमा सञ्जीव रोकाहा, प्रकृति खनाल, वल्लभ बस्नेत र कर्णबहादुर बस्नेत रहने निर्णय गरिएको छ। स्वर्गीय बस्नेतको राजनीतिक इतिहास, निष्ठापूर्ण जीवन र उहाँबाट सिक्नुपर्ने विषयलाई आगामी पुस्तासम्म पुर्‍याउने उद्देश्यले प्रतिष्ठान स्थापना गर्न लागिएको हो।

श्रद्धाञ्जली सभामा झापा आन्दोलनका योद्धा नरेश खरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए। खरेलले स्वर्गीय बस्नेतसँगै १७ वर्ष लामो जेल जीवन बिताएका थिए।

सभामा स्वर्गीय बस्नेतका भाइ डेडराज बस्नेत, भान्जा सञ्जीव रोकाहालगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा पूर्वराज्यमन्त्रीद्वय गोपी अछामी र राजकुमार ओझा, नेकपा एमालेका नेता ज्ञानेन्द्र सुवेदी, पुराना वामपन्थी नेता हर्कमान तामाङ, भीम बस्नेत, महेश रेग्मी, पीतकुमार श्रेष्ठ र लक्ष्मीकुमार श्रेष्ठसहित स्थानीय वामपन्थी बुद्धिजीवी, राजनीतिक दलका प्रतिनिधि तथा आफन्तजनको उपस्थिति थियो।

सभामा सहभागीहरूले स्वर्गीय बस्नेतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। प्रतिष्ठानमार्फत उहाँको राजनीतिक योगदान, विचार, निष्ठा र जीवनका प्रेरणादायी पक्षलाई संरक्षण गर्दै नयाँ पुस्तामाझ पुर्‍याउने अपेक्षा गरिएको छ।

Untitled Design (9) 15