न्युयोर्क — दोश्रो अन्तर्राष्ट्रिय श्रम आप्रवासन समीक्षा प्रक्रिया (आईएमआरएफ) २०२६ अन्तर्गत समानान्तर सत्र बैठकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सहभागिता जनाएको छ। सुरक्षित, व्यवस्थित तथा मर्यादित आप्रवासन प्रवर्द्धनमा नेपाली डायस्पोराको भूमिकाबारे छलफल गर्न “आप्रवासी श्रमिकहरूको सहयोग संयन्त्र सुदृढीकरण” विषयक अन्तरक्रिया कार्यक्रम मे ८, २०२६ मा अमेरिकाको न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासमा सम्पन्न भएको हो।
कार्यक्रममा कूटनीतिक नियोग, अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम), गैरआवासीय नेपाली संघ, नेपालबाट सहभागी प्रतिनिधिहरू, प्रवासी नेपाली संस्थाहरू, सञ्चारकर्मी तथा सामुदायिक अगुवाहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघ अन्तर्गत सञ्चालन भएको दोश्रो अन्तर्राष्ट्रिय श्रम आप्रवासन समीक्षा प्रक्रिया (आईएमआरएफ) २०२६ सँग सम्बन्धित रहेको आयोजकले जनाएको छ। आईएमआरएफ कार्यक्रम मे ५ देखि ८, २०२६ सम्म संयुक्त राष्ट्रसंघको मुख्यालयमा सञ्चालन भएको थियो, जहाँ नेपालसहित विभिन्न सदस्य राष्ट्रहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका प्रमुख महामहिम लोकबहादुर थापा, महावाणिज्यदूत दधिराम भण्डारी, नेपाली प्रतिनिधि लुभराज न्यौपाने, नेपालिज्म डटकमका सम्पादक प्रदीप परियार थापा, पत्रकार किशोर पन्थी तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का कार्यसमिति सदस्य टीकाराज ढकाललगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरू तथा नेपाली डायस्पोरा समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा एनआरएनएका तर्फबाट टीकाराज ढकाल तथा अन्य सहभागीहरूले श्रम आप्रवासन, गैरआवासीय नेपालीहरूको बहुपक्षीय सरोकार तथा नेपाली डायस्पोराको भूमिकाबारे धारणा राखेका थिए। बैठक समन्वयका लागि एनआरएनए आईसीसीका उपाध्यक्ष पूर्ण बनियाँ तथा सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउतले सहकार्य गरेका थिए।





















