इटहरी—सुनसरीको वराहक्षेत्रमा पुरुषोत्तम मासका अवसरमा तीर्थस्नान गर्न पुगेका मोरङका ७१ वर्षीय धर्मप्रसाद पोख्रेलको शनिबार मृत्यु भएको छ।

परिवारका सदस्यहरूसँग सप्तकोशी–कोकाहा सङ्गममा स्नानका लागि पुगेका पोख्रेल मन्दिर परिसरमा लडेर गम्भीर घाइते भएका थिए।

धार्मिक आस्था बोकेर तीर्थस्थल पुगेका उनलाई तत्काल उपचारका लागि उनका छोरा मोहनप्रसाद पोख्रेलले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए। तर, उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

पुरुषोत्तम मास हिन्दू धर्मावलम्बीका लागि विशेष पुण्य प्राप्त हुने समय मानिन्छ। यस अवधिमा स्नान, दान तथा भगवान विष्णुको आराधनाको विशेष महत्त्व रहने भएकोले वराहक्षेत्रमा अहिले भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ।