विराटनगर — विराटनगर महानगरपालिका–४ गणेशचोकमा चोरी गर्न पुगेका एक पुरुषको तीन तलामाथिबाट खसेर मृत्यु भएको छ।
मोरङ प्रहरीका अनुसार पुरुषोत्तम न्यौपानेको घरमा चोरी गर्ने उद्देश्यले प्रवेश गरेका अन्दाजी ३५–४० वर्षीय पुरुष भाग्ने क्रममा तीन तलामाथिबाट हाम्फालेपछि गम्भीर घाइते भएका थिए। उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए।
प्रारम्भिक अनुसन्धानअनुसार ती व्यक्ति छिमेकीको घरबाट माथि चढेर न्यौपानेको घरमा पुगेका थिए। घरधनीले थाहा पाएपछि होहल्ला गरेसँगै छरछिमेकी भेला हुन थालेका थिए। त्यसपछि उनी भाग्ने प्रयासमा तीन तलामाथिबाट हाम्फालेका थिए।
घटना आइतबार राति करिब १२:२० बजे भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न सकेको छैन।
प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएको छ। मृतकको पहिचान खुलाउने र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


