गोरखा—घरको आँगनमा छोरा देख्नेबित्तिकै प्रेमकुमारी ढकालका आँखा रसाए। आँखै अगाडि छोरा उभिएका थिए, तर पनि उनको आँसु रोकिएन।

आमालाई सम्झाउँदै निरज भण्डारीले भने, “आमा, म बाँचेर आएँ। तपाईं किन रुनुभएको? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु।”

रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा बस बगेपछि मृत्युको मुखबाट जोगिएर घर फर्किएका गोरखाको सिरानचोक गाउँपालिकाका निरजका लागि त्यो क्षण पुनर्जन्मभन्दा कम थिएन।

भदौ १० गते बिहान करिब ४:३० बजे पालुङटार नगरपालिका–५ बाट पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बस ३६ जना यात्रु लिएर रसुवाको गोसाइँकुण्डतर्फ हिँडेको थियो। बसमा निरज सहचालकका रूपमा थिए।

यात्रुहरू गीत सुन्दै र कुराकानी गर्दै यात्रामा रमाइरहेका थिए। तर केही घण्टामै उनीहरूको यात्रा भयावह विपत्तिमा परिणत भयो।

‘बाढी आउँदैछ, भागौँ’

गल्छीमा नास्ता गरेर बस नुवाकोटतर्फ अघि बढेको थियो। रसुवाबाट बाढी आएको चर्चा बाटोमै सुनिए पनि यात्रुहरूले ठूलो विपत्ति आउँछ भन्ने अनुमान गरेका थिएनन्।

नुवाकोटको भैँसे क्षेत्रमा पुगेपछि अचानक कसैले “बाढी आइरहेको छ, भागौँ” भन्दै कराए। बाहिर घाम लागिरहेको र त्रिशूली नदी सामान्य रूपमा बगेको देखिएकाले धेरैले त्यसलाई गम्भीर रूपमा लिएनन्।

तर केही क्षणमै अवस्था बदलियो। गड्याङगुडुङको आवाजसँगै माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो भेल बसतर्फ तीव्र गतिमा आउँदै गरेको निरजले देखे।

उनले चालक सागर देवकोटालाई गाडी रोक्न आग्रह गर्दै भने, “गाडी रोक, बाढी आइसक्यो दाइ, भागौँ।”

तर गाडी पार गरिहालिन्छ भन्ने सोचेर चालकले बस नरोकाएको निरज बताउँछन्।

अन्ततः निरज ढोकाबाट हामफालेर माथितिर दौडिए। केही सेकेन्डमै ठूलो भेलले बसलाई बगायो।

“धुलोसहितको ठूलो बाढीको छाल देखेँ। दृश्य नै अर्कै थियो,” निरज सम्झन्छन्। “मैले ड्राइभर दाइलाई भागौँ भनेँ। म त ढोकाबाट हामफालेर माथितिर दौडिएँ।”

माथि पुगेपछि तल फर्केर हेर्दा बस थिएन। केही क्षणअघिसम्म मानिसको चहलपहल रहेको सडक बगरमा परिणत भइसकेको थियो। बससँगै यात्रुहरू र आफूलाई माया गर्ने चालक सागर देवकोटा बाढीमा बगेको दृश्यले उनलाई स्तब्ध बनायो।

‘छोराको फोन आएपछि बल्ल लामो सास फेरेँ’

बस बगेको खबर घरसम्म पुग्दा निरजको परिवारमा रुवाबासी चल्यो। छोरा पनि बाढीमा परेको हुनसक्ने आशंकाले आमा प्रेमकुमारी विक्षिप्तजस्तै बनिन्।

दिनभरि छोराको फोन आउँछ कि भन्दै उनी मोबाइल हेरिरहिन्। तर निरजको मोबाइल बससँगै बाढीले बगाइसकेको थियो।

पछि बसमा सवार सहचालकसहित केही व्यक्तिले हामफालेर ज्यान जोगाएको खबर आयो। तर आमालाई छोराको आफ्नै आवाज नसुनेसम्म विश्वास लागेन।

साँझपख निरजले अर्कै व्यक्तिको फोन मागेर आफ्ना बुबालाई फोन गरे।

“छोराले फोन गरेपछि बल्ल लामो सास फेरेँ। कहिले छोरा आउला र देखौँला जस्तो भएको थियो,” प्रेमकुमारीले भनिन्। “छोरा घर फर्केपछि खुसीले आँसु नै रोकिएन।”

भोटेकोसीको बाढीले धेरै परिवारका सपना बगाएको छ। कतिपय परिवारले आफन्त गुमाएका छन् भने कतिपय अझै आफ्ना प्रियजनको खोजीमा छन्। तर निरजका लागि भने त्यो विनाशको बीचबाट जोगिएर घर फर्किनु पुनर्जन्मजस्तै बनेको छ।

बाँचे पनि मानसिक त्रास कायमै

शारीरिक रूपमा सुरक्षित भएर घर फर्किए पनि निरज अझै मानसिक रूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्।

उनकी सानिमा गङ्गा ढकालका अनुसार घटनापछि निरज कम बोल्ने, एकान्तमा टोलाइरहने र खाना खानसमेत रुचि नदेखाउने भएका छन्।

“त्यो घटनापछि बाबु राम्रोसँग बोलेको पनि छैन, हाँसेको पनि छैन। निराश देखिन्छ। खाना पनि रुचेन भन्छ,” उनले भनिन्।

निरजलाई सबैभन्दा बढी आफ्ना सहकर्मी चालक सागर देवकोटा र बसमा सवार यात्रुको सम्झनाले सताइरहेको छ।

“आफू बाँचेको खुसीभन्दा आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढी यात्रुलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ,” निरजले भने।

घटनाको दृश्य उनको आँखामा अझै ताजा छ। यात्रुहरूसँगको कुराकानी, बाटोको सामान्य वातावरण र अचानक आएको बाढीको त्यो भयावह दृश्य उनको स्मृतिमा बारम्बार दोहोरिन्छ।

साभार: ईडीयू सवाल