काठमाडौँ — सरकारले १३ देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिका, बेलायत, जापान, इजरायल, स्पेन, जर्मनी, ओमान, मलेसिया, दक्षिण कोरिया, श्रीलंका र साउदी अरेबियाका लागि राजदूत सिफारिस गरेको हो।

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर राणा, जापानका लागि जिग्यानकुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सरु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको छ।

सिफारिस गरिएका नामहरू संसदीय सुनुवाइका लागि पठाइनेछन्। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि सम्बन्धित मुलुकबाट सहमति (एग्रिमो) मागिनेछ। एग्रिमो प्राप्त भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त गर्ने संवैधानिक तथा कानुनी प्रक्रिया अघि बढ्नेछ।

परराष्ट्र मन्त्रालयले रिक्त रहेका नेपाली राजदूत पदका लागि आवेदन आह्वान गरेको थियो। आवेदन खुला गरिएका देशहरूमा अमेरिका, चीन, भारत, अस्ट्रेलिया, बेलायत, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अस्ट्रिया रहेका थिए।

प्रस्तावित राजदूतहरूको पृष्ठभूमि:

१. डा. निश्चलनाथ पाण्डे — भारत

डा. निश्चलनाथ पाण्डे वैदेशिक नीति तथा दक्षिण एसिया मामिलाका अध्येता हुन्। उनी सेन्टर फर साउथ एसियन स्टडिज (CSAS) का निर्देशकका रूपमा कार्यरत छन्।

यसअघि उनले परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (IFA) को कार्यकारी निर्देशक तथा राष्ट्रिय योजना आयोगमा पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी सल्लाहकारका रूपमा काम गरेका थिए। उनी सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ र उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्यसमेत रहिसकेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि तथा कानुनमा स्नातक गरेका छन्। दक्षिण एसियाली मामिलामा उनका विभिन्न पुस्तक तथा अनुसन्धानात्मक कृति प्रकाशित छन्।

२. डा. कल्याणराज शर्मा — चीन

डा. कल्याणराज शर्मा नेपाल–चीन सम्बन्ध, चीन अध्ययन र अर्थशास्त्रका अध्येता हुन्। उनले चीनको फुदान विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

उनी फुदान युनिभर्सिटी एलुम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डसिप फोरम तथा काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालसँग आबद्ध छन्। काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा समेत उनले अध्यापन तथा अनुसन्धान गर्दै आएका छन्।

नेपाल–चीन आर्थिक सम्बन्ध, व्यापार, पर्यटन तथा बेल्ट एन्ड रोड सहकार्यका विषयमा उनी सक्रिय रहँदै आएका छन्।

३. चिरनजंग थापा — अमेरिका

चिरनजंग थापा राष्ट्रिय सुरक्षा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा संकट व्यवस्थापनका विज्ञ हुन्। उनले कोलम्बिया विश्वविद्यालयको स्कुल अफ इन्टरनेसनल एन्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामिलामा स्नातकोत्तर गरेका छन्।

उनले एसिया क्षेत्रमा सुरक्षा तथा संकट व्यवस्थापनसम्बन्धी विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरेका छन्। नेपालमा रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद्, नेपाली सेना र नेपाल प्रहरीसँग सुरक्षा तथा नागरिक–सैन्य सम्बन्धका विषयमा काम गरेको अनुभव उनीसँग छ।

४. गौरवशमशेर राणा — बेलायत

पूर्वप्रधानसेनापति गौरवशमशेर राणाले नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरेका छन्। उनले सन् २०१२ देखि २०१५ सम्म प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए।

उनको कार्यकालमा पूर्वमाओवादी लडाकुको नेपाली सेनामा समायोजन, सैन्य पुनर्संरचना तथा भूकम्पपछिको उद्धार र राहत कार्यमा नेपाली सेनाको प्रभावकारी परिचालन भएको थियो।

उनले पाकिस्तानको कायदे–आजम विश्वविद्यालयबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर गरेका छन्। साथै, बेलायतको रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट तथा अमेरिकाको यु.एस. आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेजबाट समेत सैन्य शिक्षा हासिल गरेका छन्।

५. जिग्यानकुमार थापा — जापान

जिग्यानकुमार थापाले नेपाल–जापान सम्बन्ध तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो समय काम गरेका छन्। उनले योकोहामा नेसनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कानुनमा स्नातकोत्तर गरेका छन्।

उनी जापानमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामिलासम्बन्धी क्षेत्रमा कार्यरत छन्। नेपाल–जापान उच्चस्तरीय भ्रमण तथा द्विपक्षीय कार्यक्रमहरूको समन्वयमा समेत उनको अनुभव रहेको छ।

६. सुरेशकुमार कर्ण — इजरायल

सुरेशकुमार कर्ण सूचना प्रविधि, बैंकिङ तथा आर्थिक नीतिका क्षेत्रमा लामो अनुभव भएका व्यक्ति हुन्। उनले कुमारी बैंकमा प्रमुख सूचना तथा विपणन अधिकृत तथा नेपाल बैंकमा प्रमुख सञ्चालन अधिकृतका रूपमा काम गरेका थिए।

उनले डिजिटल बैंकिङ तथा सूचना प्रविधिसम्बन्धी क्षेत्रमा काम गर्नुका साथै कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेका छन्।

७. प्राप्ति शेरचन — स्पेन

प्राप्ति शेरचन अन्तर्राष्ट्रिय विकास, वित्तीय समावेशिता तथा लैंगिक समानताका क्षेत्रमा कार्यरत छिन्। उनी अन्तर्राष्ट्रिय वित्त निगम (IFC) मा लैंगिक समाधान तथा प्रभावसम्बन्धी भूमिकामा आबद्ध छिन्।

उनले एसिया तथा अफ्रिकाका विभिन्न मुलुकमा वित्तीय समावेशिता, महिला उद्यमशीलता तथा लैंगिक समानतासम्बन्धी कार्यक्रमको नेतृत्व गरेकी छन्। उनले ब्रान्डिस विश्वविद्यालयबाट दिगो अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर गरेकी छन्।

८. सरु जोशी — जर्मनी

सरु जोशी वैदेशिक रोजगार, आप्रवासन सुशासन, लैंगिक समानता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा लामो अनुभव भएकी नीति विज्ञ हुन्।

उनले वैदेशिक रोजगारसम्बन्धी नेपालको नीति तथा कानुनी संरचना निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएकी छन्। संयुक्त राष्ट्रसंघीय निकायहरूमा समेत उनले लामो समय काम गरेकी छन्।

पछिल्लो समय उनी आप्रवासन तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीति परामर्शमा संलग्न छिन्।

९. डा. पद्माक्षी राणा — ओमान

डा. पद्माक्षी राणा दिगो विकास, नवप्रवर्तन तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत विकास विज्ञ तथा उद्यमी हुन्।

उनी इम्प्याक्ट हब काठमाडौंकी कार्यकारी निर्देशक तथा सहसंस्थापक हुन्। उनले क्याम्ब्रिज विश्वविद्यालयबाट खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि गरेकी छन्।

दिगो विकास, उद्यमशीलता तथा विपद्पछिको पर्यटन पुनरुत्थानका विषयमा उनको अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यको अनुभव रहेको छ।

१०. चूडामणि खरेल — मलेसिया

चूडामणि खरेल शिक्षा, मानविकी, राजनीतिशास्त्र तथा कानुनको पृष्ठभूमि भएका व्यक्ति हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा स्नातक तथा स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्।

उनी विभिन्न शैक्षिक संस्थामा अध्यापन गर्नुका साथै खेलकुद प्रशासनसँग पनि आबद्ध रहँदै आएका छन्। नेपाल योग खेलकुद संघका महासचिवका रूपमा समेत उनले जिम्मेवारी सम्हालिरहेका छन्।

११. प्रा. डा. संगम श्रेष्ठ — दक्षिण कोरिया

प्रा. डा. संगम श्रेष्ठ जलस्रोत, जलवायु उत्थानशीलता तथा अन्तर्राष्ट्रिय सहकार्यका क्षेत्रमा कार्यरत प्राज्ञिक व्यक्तित्व हुन्।

उनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (AIT), थाइल्यान्डमा प्राध्यापक तथा संस्थाको स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका पूर्व डिन हुन्।

उनले जापानको यामानासी विश्वविद्यालयबाट एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका छन्। जल, जलवायु परिवर्तन तथा नदी व्यवस्थापनका विषयमा उनका थुप्रै अनुसन्धानहरू प्रकाशित छन्।

१२. डा. मञ्चला झा — श्रीलंका

डा. मञ्चला झा सुशासन, सार्वजनिक नीति तथा संक्रमणकालीन न्यायका क्षेत्रमा कार्यरत प्राज्ञ हुन्। उनले सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्तका रूपमा सन् २०१५ देखि २०१९ सम्म काम गरेकी थिइन्।

उनले संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको अनुभव प्रस्तुत गरेकी छन्। त्रिभुवन विश्वविद्यालयमा अध्यापनसमेत गरेकी झाले महिला, शान्ति तथा सुरक्षा, सुशासन र भ्रष्टाचार नियन्त्रणका विषयमा काम गरेकी छन्।

१३. गिरीबहादुर सुनार — साउदी अरेबिया

गिरीबहादुर सुनार समाजशास्त्र तथा विकाससम्बन्धी क्षेत्रमा कार्यरत छन्। उनी सामाजिक संरक्षण, लैंगिक समानता, सामाजिक समावेशीकरण तथा समुदायमा आधारित विकासका क्षेत्रमा लामो समयदेखि सक्रिय छन्।

उनले विश्व बैंक तथा एसियाली विकास बैंकसँग सम्बन्धित विभिन्न विकास परियोजनामा काम गरेका छन्। सामाजिक समावेशीकरण र विकाससम्बन्धी विषयमा उनका लेख तथा पुस्तकहरू समेत प्रकाशित छन्। सिएन नेपाल बाट