पथरीशनिश्चरे — नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको केही घण्टामै मोरङको पथरीशनिश्चरे नगरपालिका–६ गेलाबारीमा दुई क्षेत्रीय प्रतिनिधिको घरमा मध्यराति तोडफोड भएको छ।

शनिबार राति करिब ११:५० बजे क्षेत्रीय प्रतिनिधि विनोद कार्कीईश्वर भट्टराईको घरमा तोडफोड भएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भएको आशंकामा स्थानीय तीन जनाको पहिचान खुलिसकेको र उनीहरूको खोजी भइरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।

प्रहरीका अनुसार भट्टराईको घरको गेटमा क्षति पुगेको छ भने कार्कीको घरको झ्यालका सिसा, घरमा रहेका ६ वटा प्लास्टिकका कुर्सी र उनले भाडामा लिएको गाडीको सिसासमेत फुटाइएको छ। गाडीका चालकले गाडी सुरक्षित स्थानतर्फ लगेर थप क्षति हुनबाट जोगाएका थिए।

घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब निरीक्षक कुमार राईको नेतृत्वमा इलाका प्रहरी कार्यालय पथरीबाट टोली घटनास्थल पुगेको थियो। अस्थायी प्रहरी चौकी हसन्दहबाट पनि थप प्रहरी परिचालन गरिएको थियो।

डीएसपी वीरदत्त पन्तका अनुसार प्रारम्भिक अनुसन्धानमा पथरीशनिश्चरे–६ का विशाल खड्का (३३), निशान कार्की (३५) र रोशन मण्डल (४०) को संलग्नता देखिएको छ। उनीहरू फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

घटनाको कारण भने अझै खुलेको छैन। स्थानीयसँगको सोधपुछ, घटनास्थलको अवस्था र अन्य प्रमाणका आधारमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

अधिवेशनमा सर्वसम्मत नेतृत्व

तोडफोड गरिएका घरका धनीमध्ये विनोद कार्की २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट कोशी प्रदेशसभा सदस्यका उम्मेदवार थिए। शनिबार सम्पन्न वडा अधिवेशनबाट कार्की र भट्टराई क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए।

घटना हुँदा भने दुवै जना घरमा नरहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानमा संलग्न भनिएका विशाल खड्का पनि शनिबारकै वडा अधिवेशनबाट कांग्रेसको वडा सदस्यमा चयन भएका थिए।

स्थानीयका अनुसार तोडफोडमा संलग्न समूहले विनोदका दाजु बलराम कार्कीमाथि समेत हातपात गरेको थियो। स्थानीय युवा भव्य मग्रातीमाथि पनि आक्रमण भएको र उनी सामान्य घाइते भएको बताइएको छ।

बलराम कार्कीका अनुसार करिब २० जनाको समूह घरेलु हतियारसहित राति घरमा आएको थियो। उक्त समूहले सुरुमा विनोद कार्की र ईश्वर भट्टराईलाई खोजेको र दुवै जना घरमा नभेटिएपछि तोडफोड गरेको उनले बताए।

‘पार्टीको वडा अधिवेशनमा कुनै विवाद भएको थिएन। नेतृत्व सर्वसम्मत चयन भएको हो। तर, के कारणले तोडफोड गरियो भन्ने यकिन छैन,’ उनले भने।

आक्रमणकारीको समूह मदिरा सेवन गरेर आएको हुन सक्ने बलरामको आशंका छ। आफूलाई समेत हातपात गर्न थालेपछि घर पछाडिको बाटो हुँदै भागेर ज्यान जोगाएको उनले बताए।

‘विनोद कार्की र ईश्वर भट्टराईलाई नै लक्षित गरेर आक्रमण गर्ने योजनासहित समूह आएको थियो। तर दुवै जना घरमा थिएनन्,’ उनले भने।

स्थानीयका अनुसार कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार भएको वडा अधिवेशन सौहार्दपूर्ण रूपमा सम्पन्न भएको थियो। अधिवेशनमा कुनै विवाद नभएको र नेतृत्व सर्वसम्मत चयन भएको उनीहरूको भनाइ छ।

अधिवेशन सकिएको केही समयमै मध्यराति दुई क्षेत्रीय प्रतिनिधिको घरमा तोडफोड भएपछि स्थानीयमा त्रास फैलिएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको भूमिका, तोडफोडको कारण र अन्य व्यक्तिको सम्भावित संलग्नताबारे अनुसन्धान गरिरहेको जनाएको छ।