विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिकाले आजदेखि स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापनसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरेको छ। अब नगरवासीले जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाट लगायतका तोकिएका भूमि प्रशासनसम्बन्धी सेवा नगरपालिकाबाटै प्राप्त गर्न सक्नेछन्।
सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं ले सेवाको शुभारम्भ गर्दै नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय स्तरबाटै सेवा सञ्चालन गरिएको बताए।
उनका अनुसार यसअघि साना–साना भूमि प्रशासनसम्बन्धी कामका लागि मालपोत कार्यालय धाउनुपर्ने बाध्यता अब धेरै हदसम्म अन्त्य हुनेछ। सुरुवाती केही दिन सेवा प्रवाहमा सामान्य ढिलाइ हुन सक्ने भए पनि क्रमशः सेवा प्रभावकारी र छिटोछरितो बनाइने उनले बताए।
मालपोत (नवौँ संशोधन) नियमावली, २०८३ बमोजिम नगरपालिकाको भूमि व्यवस्थापन शाखामार्फत तोकिएका भूमि प्रशासनसम्बन्धी काम सञ्चालन हुने जनाइएको छ। यसबाट सेवाग्राहीको समय र खर्च दुवै बचत हुने नगरपालिकाको अपेक्षा छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्की ले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई ले शुभकामना व्यक्त गरेका थिए। उपप्रमुख अकली चौधरी ले सेवाग्राहीलाई प्रिन्ट गरिएको जग्गाको नाप–नक्सा हस्तान्तरण गर्दै सेवा शुभारम्भ गरेकी थिइन्।
कार्यक्रममा नापी कार्यालय मोरङ र बेलबारीका प्रतिनिधि, भूमि प्रशासन कार्यालय बेलबारीका प्रमुख तथा सम्बन्धित मन्त्रालयका अधिकारीहरूले स्थानीय तहबाट भूमि प्रशासन सेवा सञ्चालन हुँदा नागरिकलाई हुने सहजताबारे धारणा राखेका थिए।
कार्यक्रमकै अवसरमा नगरप्रमुख गुरागाईं, उपप्रमुख चौधरी र प्रमुख अतिथि अजम्बर राईले दिपेन्द्र न्यौपाने लाई नगरपालिकाबाट जारी गरिएको पहिलो जग्गाधनी प्रमाणपुर्जा प्रदान गर्दै सेवाको औपचारिक सुरुवात गरेका थिए।


